बाढीको जोखिम बढेसँगै कोसी ब्यारेजका थप ढोका खोल्ने तयारी भएको छ।
देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि बाढीपहिरो न्यूनीकरणको पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोसी ब्यारेजका ढोका क्रमशः खोलिने जानकारी दिए।
गत शुक्रबार ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेपछि २० वटा ढोका खोलिएका थिए। कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिए।
प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ।
प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, सर्वसाधारणलाई यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न प्राधिकरणको अनुरोध छ।
Shares

प्रतिक्रिया