मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको दक्षिण पूर्वी भागमा अम्फन नामकाे आँधी अर्थात् चक्रवात विकास भइसकेको र त्यसले नेपालको मौसममा प्रभाव पार्ने सम्भावना रहेको भन्दै होसियारी अपनाउन आग्रह गरेको छ।
आइतबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले उक्त चक्रवात २–३ दिनभित्रै उत्तरतर्फ सर्दै भारतको पश्चिम बंगालको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको जानकारी दिएको छ।
यो माैसमी प्रणाली नै नेपालमा प्रवेश गर्ने सम्भावना नभए पनि यसको प्रभावले देशैभरको मौसम बदली भई वर्षा तथा हिमपात हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हाे।
‘आउँदो मंगलबारदेखि देशैभरको मौसममा बदली हुन सक्ने तथा त्यसपछिकाे २–३ दिनसम्म देशको खासगरी पूर्वी तथा मध्य क्षेत्रमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ।

प्रतिक्रिया