बुधबार सात बजेतिर देवकुमार नेम्बाङले आफ्ना दुई छोरालाई फोन गरे। सुमित र सिर्जन दिउँसैदेखि घरमा थिएनन्। साँझ खाना पकाउने बेलासम्म पनि आइपुगेनन्।
‘सात बजेतिर फोन गरेर खाना पकाउन छिटो आऊ भनेको थिएँ। आधा घण्टाजतिमा आउँछौँ भनेका थिए। तिमीहरू अब त्यत्तिकै राति हराउला भनेँ, उनीहरूले आइहाल्छौँ एकछिनमा भनेका थिए,’ बिहीबार दिउँसो जाहेरी दिन जिल्ला प्रहरी परिसर ललितपुर पुगेका देवकुमारले सम्झिए, ‘तर एकछिनमा घटना भयो, सुमित र सिर्जनलाई नै अस्पताल लगेको छ भन्ने खबर अयो।’
देवकुमार हतारहतार छोराहरूलाई लगिएको ग्वार्कोको बीएन्डबी अस्पताल पुगे। पालैपालो छोराहरूको बेड हेरे। आँखा उघार्न खोजे। तर दुवै जना जीवित भेटेनन्।
‘हाम्रो दुई भाइ छोरा हुन्। छोरी छैनन्। अब श्रीमती र म मात्रै जीवित रह्यौँ,’ देवकुमारले बिलौना गरे।
३३ वर्षका सुमित र २५ वर्षका सिर्जनको शव अस्पतालमै छ।
पोस्टमार्टम गर्न आमालाई कुरिरहेका छन्। आमा बेलायतमा छिन्। आमा फर्किएपछि मात्रै पोस्टमार्टम गर्ने परिवारको सल्लाह छ।
बुधबारको दिन क्षणभरमै नेम्बाङ परिवारले कहालीलाग्दो त्रासदी भोग्नुपर्यो। झापाको कमल गाउँपालिका ६ को नेम्बाङ परिवार ललितपुरको इमाडोलमा बस्छ। इमाडोलमा पनि उनीहरूको घर छ।
त्यसदिन सुमित र सिर्जनका दुई जना साथी पनि आएका थिए। दिउँसो काका नाता पर्ने वसन्त नेम्बाङसहित मंगलबजारतिर निस्किएका थिए। पाटन दरबार क्षेत्र घुमफिर गर्दैथिए।
सुमितले त्यही क्रममा एकजना साथीलाई टेलिफोन गरे। आफूले कल गरेकै व्यक्ति भन्ठानेर कुरा गरे। तर त्यो फोन अर्कैलाई पुगेछ। नम्बर गलत डायल भएछ।
सुमितले गरेको फोन ललितपुर महानगरपालिका ९ भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपालीको मोबाइलमा पुग्यो। सुमित र सञ्जीवको यसअघि चिनजान, भेटघाट थिएन। पहिलो पटक कुरा भइरहे पनि उनीहरू टेलिफोनमै बाझे।
तर, अर्कैलाई फोन लागेको थाहा पाएपछि सुमितले फोन काटे। सुमितले फोन काटेपछि सञ्जीवले फोन गर्न थाले।
त्यसपछि उनीहरूको विवाद बढ्दै गयो। अभद्र कुरा हुन थाल्यो। सुमित फोन काट्थे, सञ्जीव पटकपटक फोन गरिरहन्थे।
‘तँ कहाँ छस् भन्छन् उताबाट सञ्जीवले। सुमितले म मंगलबजारमै छु भन्छन्। त्यसो भए म पनि मंगलबजारमै आउँछु। त्यहीँ भेटौँ भनेर तथानाम गालीगलौज गर्छन्,’ ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले भने, ‘त्यसपछि नेम्बाङ दाजुभाइ र उनीहरूका तीन जना साथीहरू बेलुका साढे ७ बजेतिर मंगलबजारको कृष्णमन्दिर अगाडि पुग्छन्। सन्जु भन्ने सञ्जीव नेपाली आफ्नो साथी गगन सुनारलाई लिएर स्कुटरमा आउँछन्।’
स्कुटर साइड लगाएर उनीहरू पनि कृष्णमन्दिर अगाडि जान्छन्। त्यहाँ दुई समूहको भेट हुन्छ। सिर्जन र उनका साथीहरू तलै बस्छन्। सञ्जीवसँग आएका उनका साथी पनि त्यहीँ बस्छन्। सुमित र सञ्जीव भने कृष्णमन्दिरको सिँढी चढ्छन्।
माथि नै उनीहरूको विवाद पर्छ। बोल्दाबोल्दै हानाहान सुरु हुन्छ। त्यही क्रममा सञ्जीवले आफूसँग भएको छुरा निकाल्छन्। सुमितले सञ्जीवको छुरा बोकेको हात केहीबेर समात्छन् र मुक्का प्रहार गर्छन्। तर आफ्नो छुरा भएको हात फुत्काउँदै सञ्जीवले सुमितको घाँटीमा प्रहार गर्छन्। छुराले लागेपछि सुमित त्यहीँ ढल्छन्।
सुमितलाई ढालेपछि सञ्जीव मन्दिरको तल झर्छन्। त्यसपछि उनलाई रोक्न सुमितका भाइ सिर्जन अगाडि बढ्छन्। तर सञ्जीवले सिर्जनको पनि पेट र घाँटीमा छुरा प्रहार गर्छन्। सिर्जन पनि त्यहीँ ढल्छन्।
‘एकैछिनमा आँखा पनि चिम्लन नपाउँदै घटना घटेको देखिन्छ। सुमितले आफ्ना काका नाता पर्ने र साथीहरूको समेत सहयोग लिन पाउँदैनन्। त्यति छिटो घटना भएको छ,’ एसएसपी बोगटीले भने।
त्यसपछि उनीहरूले प्रहरीलाई खबर गर्छन्। प्रहरी खबर आएको तीन मिनेटमै घटनास्थलमा पुग्छ। नेपाल प्रहरीको मंगलबजारको टोलीले आफ्नै गाडीमा राखेर १५ मिनेटभित्रमा सुमित र सिर्जनलाई बीएन्डबी अस्पताल ग्वार्को लगिसक्छ।
तर डाक्टरले ८ः१५ बजेतिर दुवै जनालाई मृत घोषणा गर्छन्।
प्रहरीका विभिन्न कार्यालयबाट टोली घटनामा संलग्नहरूको खोजतलासमा लाग्छ। एसएसपी बोगटी पनि घटनास्थलमा पुग्छन्। घटनास्थललाई प्रहरीले चारैतिरबाट घेराहाल्छ र संलग्न व्यक्तिको पहिचान र खोजी सुरु गर्छ।
छुरा लिएर भाग्दै गरेको अवस्थामा एउटा रेस्टुरेन्टको नजिकै महिला प्रहरी जवानले सञ्जीवलाई फेला पार्छिन्। उनले नियन्त्रणमा लिएर नजिकैको प्रहरीलाई बोलाउँछिन्।
थप टोली पुगेर घटनामा प्रयोग भएको छुरासहित सञ्जीवलाई पक्राउ गर्छ। उनका सहयोगी गगन सुनारलाई पनि त्यहीँ नजिकैबाट अर्को टोलीले नियन्त्रणमा लिन्छ।
सञ्जीव मासु पसलमा काम गर्थे। उनले घटनास्थलमा पनि मासु पसलकै छुरा लिएर आएको देखिएको छ। उनले प्रहरीसँगको प्रारम्भिक सोधपुछमा पनि यही बताएका छन्।
सञ्जीवलाई प्रहरीले यसअघि दुई पटक नियन्त्रणमा लिएको थियो। सम्भावित अपराधीको आशंकामा पक्राउ परे पनि उनको कुनै घटनामा संलग्नता नखुलेपछि छाडिएको तथ्य प्रहरीले फेला पारेको छ।
२२ वर्षका गगन सुनार नवलपरासीका हुन्। उनी पाटनढोका नजिकै बसेर मूर्ति बनाउने काम गर्छन्। सञ्जीवले बोलाएपछि स्कुटरमा चढेर उनी गएका थिए।
उनीहरू दुई जनाबाहेकको संलग्नता अहिलेसम्म नदेखिएको एसएसपी बोगटीले बताए।
सुमितका बुवाले बिहीबार कर्तव्य ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ।
मंगलबजार सधैँ भिडभाड हुने क्षेत्र हो। मान्छेहरूको भिडमै घटना भएको देखिन्छ। तर सञ्जीवसँग हतियार भएका कारण त्यहाँ रहेका सुमितकै साथीहरूले पनि नियन्त्रणमा लिन नसकेको देखिएको एसएसपी बोगटी बताउँछन्। सीसीटीभी र अन्य प्राविधिक रुपमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
सुमित र सिर्जन पनि बेलायत जाने तयारीमा थिए। आमा बेलायतमा छोराहरू कुरिरहेकी थिइन्। तर, अहिले छोराहरूको शव पोस्टमार्टमका लागि आमालाई कुरिँदैछ।
Shares

प्रतिक्रिया