खोलाले डाइभर्सन बगाउँदा आज बिहान चारबजेदेखि सर्लाहीको हरिवनमा रोकिएका सवारी साधन केही बेरअघिबाट गन्तव्यतर्फ लागेका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने चापिनी खोलाको पुरानो पुललाई एकतर्फी रुपमा चालु गरेपछि गाडीहरु चल्न थालेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए।
‘गएरातिको वर्षापछि चापिनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा आज बिहान चार बजेदेखि नै यहाँ सडक अवरुद्ध थियो,’ उनले नेपालखबरसँग भने, ‘केहीबेर अघिबाट सडक एकतर्फी खुलेको छ। गाडी चल्न थालेका छन्।’
चारलेनमा बिस्तार भइरहेको पूर्वपश्चिम राजमार्गमा यतिबेला पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण हुँदैछ। चापिनी खोलामा पनि नयाँ पुल निर्माणको काम भइरहेकाले खोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको छ।
डाइभर्सन बगाएकाले अहिले पूर्वपश्चिम राजमार्गकै पुरानो पुलबाट यातायात सञ्चालन गरिएको हो। पुरानो पुलमा पनि अहिले मर्मतको काम चलिरहेकाले डाइभर्सनबाट गाडी चल्ने गरेका थिए।

Shares

प्रतिक्रिया