समाज


काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ

नेपालखबर
चैत १७, २०८२ मंगलबार ८:२८, काठमाडौँ

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ)छवि रिजाल पक्राउ परेका छन्। 

उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरस्थित निवासबाटै मंगलबार बिहान पक्राउ गरेको हो।

रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। 

अब जिल्ला अदालतबाट म्याद थप गरी रिजालमाथि अनुसन्धान अघि बढ्ने छ। 

गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला रिजाल काठमाडौँको सीडीओ थिए। जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

जेनजी आन्दोलन जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले आन्दोलनमा नागरिकको ज्यान जानुमा रिजाललाई पनि दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। 

आयोगले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन गर्न सिफारिस गरेको थियो। 

२३ भदौमा बानेश्वरमा १९ जना किशोरको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना हुँदै आएको छ। 

बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनमा घातक दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गएको शनिबार पक्राउ गरेको थियो। आयोगले ओली र लेखकलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाउन सिफरिस गरेको थियो। 

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि तत्काल पक्राउ गरेर अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ। तर, दुवाडी भने पक्राउ परेका छैनन्। 

बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षा निकायबाहेक अरुको हकमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जसमा कारबाहीको सूचीमा दुवाडी र रिजाल दुवै छन्। 

यसअघि गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि पठाएको पत्रमा भने पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई मात्रै पक्राउ गर्न निर्देशन दिएको थियो। पूर्वगृहसचिव दुवाडी भने अवकास भइसकेका छन्। 

रिजाल भने अहिले पनि कार्यरत छन्। 

कार्की आयोगले तत्कालीन सुरक्षा निकायका प्रमुखहरुलाई पनि कारबाही गर्न सिफारिस गरेको छ तर, सरकारले सुरक्षाकर्मीलाई भने तत्काल कारबाही नगर्ने नीति लिएको छ। उनीहरूको हकमा अध्ययन गर्न अर्को समिति बनाउने र उक्त समितिको सिफारिस अनुसार गर्ने निर्णय सरकारले गरेको छ।

ओली र लेखकसँगै रिजाल पनि पक्राउ परेपछि अब तत्काल पक्राउ पर्नेमा सूचीमा दुवाडी छन्। 

पक्राउ परेकै दिनदेखि पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा छन्। उनलाई स्वास्थ्यका कारण अस्पतालमै राखिएको छ। 

लेखकलाई भने प्रहरी कार्यालयमै राखिएको छ। लेखकलाई अदालतमा उपस्थित गराइसकिएको छ। ओलीलाई उपस्थित नगराइ भिडिओ कन्फ्रेन्समार्फत नै म्याद थप गरेर प्रहरीले अस्पतालमा राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad