लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो।
लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो।
दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्नालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए।
उनले भने, ‘कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया। मेरा लेखनका स्रोत अपठित कर्नालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन्। म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु।’
साथै उनले नेपाली भाषा, सभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए। कर्णालीको लोकसाहित्यमा समाज, संस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको पनि बताए।
तर, अहिले पनि कर्णालीको विषयमा लेखिएका सामग्रीमा पर्याप्त अनुसन्धान र मर्म नबुझी लेखिएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘कति लेखकले त कर्नालीकन बिकाउ माल सम्झिया र कर्नालीका आँसु मात्तै लेख्या। कतिले कर्नाली नबुजीकनै लेख्या, कर्नाली नटेकीकनै लेख्या र तथ्य बङ्ग्याइकन पण्डित्याइँ छाँट्या। आज पन कर्नाली लेखिनै छ। तर पन कर्नाली केई लेखियाकै नाइँ। कर्नालीको भाषा, सभ्यता र संस्कृतिको हुनुपन्र्या जति खोज भयाको नाइँ।’
उनले अगाडि भने, ‘कर्नालीको इतिहास बोल्न्या ताम्रपत्रहरू पानी खान्या गाग्री भइसक्याका छन्। वीरखम्बहरू नासिनाइ छन्, मासिनाइ छन्। देवलहरू ढल्लाइछन्। लोकगाथाहरू लोप हुनाइछन्। यी सबैको खोजी अरिकन नेपालीजातिको भाषिक, सामाजिक र सांस्कृतिक इतिहास लेख्न बाँकी नै छ।’
Shares

प्रतिक्रिया