समाज


धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज विवाद: न्यायाधीश शर्मा र पोखरेलको इजलासमा तोकियो पेसी

धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज विवाद: न्यायाधीश शर्मा र पोखरेलको इजलासमा तोकियो पेसी

नेपालखबर
चैत १, २०८२ आइतबार ११:२४, काठमाडौँ

धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किसोरी साहको मुद्दाको सुनुवाइ आज हुँदैछ। 

शुक्रबार सर्वोच्चकी न्यायाधीश शारङ्गा सुवेदीले हेर्न नमिल्नेमा परेको मुद्दाको सुनुवाई आज न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो।

बिहीबार साहकै अर्को मुद्दामा आदेश गरेकी न्यायाधीश सुवेदीकै इजजासमा मुद्दाको पेसी परेपछि शुक्रबार सुवेदीले यो मुद्दा हेरेकी थिइनन्। 

शुक्रबार न्यायाधीश सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पहिलो नम्बरमै यो मुद्दाको पेसी तोकिएको थियो। 

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका साहको उम्मेदवारी निर्वाचन आयोगले फागुन १९ गते खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेजविरुद्ध साह सर्वोच्च पुगेका हुन्। 

उनले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए। कर्जा सूचना केन्द्रले नै साहलाई कालोसूचीबाट हटाइएको पत्र पठाएपछि बिहीबार उनको नाम कालोसूचीबाट हटाउन न्यायाधीश सुवेदीको इजलासले आदेश दिएको थियो। 

अब उनको उम्मेदवारी खारेजबारे फैसला हुन बाँकी छ। आयोगले साहको उम्मेदवारी खारेज गरे पनि उनले पाएको मत भने गणना गरेर राखिएको छ। उम्मेदवारी खारेजपछि पनि उनले सबैभन्दा बढी मत पाएका छन्। 

निर्वाचन आयोगले पछि सर्वोच्च अदालतको आदेश अनुसार हुने भन्दै यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा० का उम्मेदवार मातृका यादवलाई धनुषा १ बाट विजयी घोषणा गर्दै प्रमाणपत्र दिइसकेको छ। 

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजको निर्णय अब सर्वोच्चले बदर गरे साह सांसद हुनेछन् भने यादवको प्रमाणपत्र खोसिनेछ। आयोगको निर्णय सदर भए यादव नै सांसद रहनेछन्। 

कतिपयले भने धनुषा १ मा अर्को निर्वाचनको आदेशसमेत हुनसक्ने अड्कलबाजी गर्न थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad