समाज


देउवा र खड्काको घरनजिकै सेनाले भेटेको ३ किलो पहेँलो धातु सुन नभएको पुष्टि

३५ लाख रकमबारे अनुसन्धान बाँकी नै, अलमलमा राजस्व अनुसन्धान
देउवा र खड्काको घरनजिकै सेनाले भेटेको ३ किलो पहेँलो धातु सुन नभएको पुष्टि

उजिर कार्की
फागुन २९, २०८२ शुक्रबार १९:५६, काठमाडौँ

जेनजी आन्दोलनमा बुढानीलकण्ठमा फेला परेको तीन किलो पहेँलो धातु सुन नभएको पुष्टि भएको छ। 

भदौ २४ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा लुटपाट र आगजनी भएकै दिन सोही स्थाननजिकै एक व्यक्तिले बोरामा लैजाँदै गरेको अवस्थामा तीन किलो पहेँलो धातु र ३५ लाखभन्दा बढी रकम सेनाले बरामद गरेको थियो। ती व्यक्ति भने बोरा छाडेर फरार भएका थिए।

बरामद पहेँलो धातु र रकम नेपाली सेनाले राजस्व अनुसन्धान विभागमा पठाएको थियो। रकमबारे पनि अहिलेसम्म कुनै अनुसन्धान अगाडि नबढेको पाइएको छ। 

‘सेनाले फेला पारेको तीन किलो पहेँलो धातु भनेर ल्याइएको हो। ललितपुर सुनचाँदी व्यवसायी संघ र सेनासहित बसेर परीक्षण गर्दा सुन होइन भन्ने पुष्टि भयो। हेर्दा पनि पित्तल जस्तै देखिन्छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले नेपालखबरसँग भने। 

त्यो रकम र पहेँलो धातु लैजाने व्यक्ति को थिए भन्ने पुष्टि हुन सकेको छैन। यस्तै, उक्त रकम र पहेँलो धातु कसको हो भन्ने पनि पुष्टि हुन बाँकी नै रहेको महानिर्देशक चिलुवालले बताए। 

देउवा र खड्काको घरनजिकै बाटोमा फेला परेकाले उनीहरू मध्येकै हुनसक्ने आशंका गरिएको छ। 

नेपाली सेनाका प्रवक्ता, सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाली सेनाले फेला परेको ३४ लाख ७९ हजार ६ सय ७० रुपैयाँ बुझाएको थियो। यस्तै जलेको अवस्थामा एक लाख २४ हजार ५ सय रुपैयाँ पनि फेला परेको थियो। 

अमेरिकी डलर ३ सय सहिसलामत र जलेको अवस्थामा २ हजार २ सय अमेरिकी डलर पनि फेला परेको थियो। त्यो सबै सेनाले राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। 

जलेको रकमबारे राष्ट्र बैंकसँग छलफल गरेर निर्णय गर्ने विभागले जनाएको छ। 

‘हामीले पहिल्यै बुझाइसकेको अवस्था हो। राजस्व अनुसन्धान विभागमा बुझाइसकेपछि के भयो, बाँकी कुरा हामीलाई थाहा भएन,’ सैनिक प्रवक्ता बस्नेतले भने। 

पहेँलो धातुमा कमर्स बैंक स्विट्जरल्यान्ड लेखिएको छ। सुन होइन भन्ने पुष्टि भएपछि विभागले सेनालाई नै लैजान भनेको थियो। तर सेनाले फिर्ता नलगेपछि अहिले पनि विभागमै राखिएको छ।

विभागका महानिर्देशक चिलुवालले सेनाले बेवारिसे अवस्थामा फेला पारेको रकम र पहेँलो धातु रक्षा मन्त्रालयबाट निर्णय भएर विभागमा पठाइएको बताए। 

यस विषयमा जाँचबुझ आयोगले पनि गृह मन्त्रालयमा पत्र पठाएको थियो। गृह मन्त्रालयले रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित भएकाले आयोगको पत्रसहित रक्षा मन्त्रालयमै पठाइदिएको थियो। 

‘हामीलाई अनुसन्धानका लागि पठाएको होइन। बेवारिसे अवस्थामा भेटिएको भनेर पठाएको थियो। कतिपय जलेका पैसा छन्। त्यसको विषयमा राष्ट्र बैंकसँग बसेर छलफल गर्छौँ। खासगरी हामीलाई बुझाउनु पर्ने पैसा पनि होइन त्यो। कसुर जन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउनु पर्थ्यो,’ महानिर्देशक चिलुवालले भने, ‘अब रक्षा मन्त्रालयमा बसेर निर्णय भएको रहेछ, एउटा सरकारी निकायले पठाएकाले बुझिदिऊँ भनेर बुझेको मात्रै हो। अब हामी प्रतिवेदन बनाएर कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउँछौँ।’

बरामद नगद र पहेँलो धातुको विषयलाई कसरी अगाडि बढाउने भन्ने निर्णयमा पुगेपछि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउने राजस्व अनुसन्धान विभागको तयारी छ।

‘कसैले बोरामा बोकेर लैजाँदै गर्दाखेरी फेला परेको भनिएको छ। तर कसले लैजाँदै थियो, कसको हो भन्ने केही पनि खुलेको छैन,’ चिलुवालले भने। 

त्यतिबेला नेपाली सेनाले ५० दरका नोट पनि एक बाक्सा बुझाएको थियो। यो रकम पनि राजस्व अनुसन्धान विभागमै पठाइएको थियो। 

यो रकमचाहिँ नयाँ बानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंक लुटेर लगेको हुन सक्ने आशंका विभागको छ। बाक्सामा ५० दरमा मात्रै नोट थिए। 

सेनाले पठाउँदैखेरी बेवारिसे भनेर दिएको थियो। ती रकम र धातु दाबी गर्न कोही पनि सम्पर्कमा आएका छैनन्। 

बुढानीलकण्ठमा देउवा र खड्काको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए। उनीहरूका घरमा जलेको अवस्थामा रकम फेला परेको थियो। तर यी विषयमा जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले बुझ्ने काम गरिरहेकाले यसअघि अन्य निकायले छुट्टै अनुसन्धान अगाडि बढाएका थिएनन्। 

तर, आयोगले आइतबार यी सबै घटनाबारे प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यी सबै विषयमा अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएको बताएइका छन्। २३ गतेको घटनामा संलग्नबारे तत्कालीन सरकार प्रमुख, गृहमन्त्री र प्रहरी प्रमुखलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको बताए पनि २४ गतेको घटना र अन्य विषयबारे भने जानकारी हुन सकेको छैन।

सरकारले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। तर, एक हप्तासम्म पनि मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेस भएको छैन। अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तथा कार्यान्वयन र सार्वजनिक गर्ने निर्णय गर्ने भनिए पनि मन्त्रिपरिषद् बैठककै टुंगो छैन। अर्को सातासम्ममा सुशीला कार्की नेतृत्वको सरकार बिदा हुने सम्भावना छ। 

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको छ। फागुन २१ को निर्वाचनमा रास्वपाले एकल बहुमत पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad