आज (मार्च १ अर्थात् फागुन १७) देखि हिउँदयाम अर्थात् विन्टर सिजन सकिएर प्रि-मनसुन सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अनुसार फेब्रुअरी महिना सकिएर मार्च १ सुरु भएसँगै नेपालमा प्रि-मनसुन सिजन सुरु भएको हो। प्रि-मनसुन भनेको मनसुन अर्थात् बर्खायाम भित्रिनुभन्दा अघिको सिजन हो।
‘अब मनसुन सुरु नहुँदासम्म यही सिजन रहन्छ। यो सिजनमा चाहिँ हावाहुरी, मेघगर्जन, चट्याङसहित वर्षा हुने हुन्छ, तर प्रि-मनसुन लाग्नेबित्तिकै आजैदेखि त्यस्तो हुन्छ भन्ने होइन। अब बिस्तारै मौसम त्यसतर्फ जान्छ’, उनले आइतबार बिहान नेपालखबरसँग भने।
उनका अनुसार प्रि-मनसुनमा बिस्तारै तापक्रम पनि बढ्दै जान्छ।
‘तापक्रम बढ्दै जाने बिहान सफा रहेको मौसम साँझपख बादल लाग्ने र मेघगर्जन, हावाहुरीसहित क्षणिक वर्षा हुने हुन्छ। निरन्तर वर्षा भने हुँदैन’, मौसमविद् ढकालले भने।
उनका अनुसार प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ।
यसपछि जुन महिनादेखि मनसुन अर्थात् बर्खा लाग्छ। यो सिजन ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।
मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
अनि डिसेम्बरदेखि फेरि विन्टर अर्थात् जाडो याम लाग्छ।
मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ: प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।
Shares

प्रतिक्रिया