मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्डमा स्कारपियो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी चौकी फाखेलका अनुसार शनिबार (आज) बिहान ६ बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.४ च ९७७७ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको हो।
मकवानपुर प्रहरीका अनुसार चालक निदाउँदा अनियन्त्रित भई गाडी सडकबाट करिब ३० मिटर तल खसेको छ।
दुर्घटनामा स्कारपिओ चालक ३८ वर्षीय विजय यादवसहित चार जना घाइते भएका मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
बोगटीका अनुसार चालक यादव कलैया उपमहानगरपालिका–२, बारा निवासी हुन्। उनको बायाँ हात र खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कलैया उपमहानगरपालिका–७ बरेवा निवासी सोही गाडीमा सवार सवारीधनी ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी श्रीमती ४० वर्षकी शोभा गुप्ता र उनीहरुका १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन्।
उनीहरूको अवस्था मध्यम रहेको डीएसपी बोगटीले जानकारी दिए।
स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया