भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवाहरूलाई सरकारी सेवामा आकर्षित गर्न लोक सेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ। गाउँपालिकाले ४५ दिने विशेष प्रशिक्षण कार्यक्रममार्फत स्थानीय युवाहरूलाई निजामती र शैक्षिक क्षेत्रमा प्रवेश गराउने लक्ष्य राखेको हो।
स्थानीय तहबाटै लोक सेवा र शिक्षक सेवाको तयारी गराई सक्षम र राष्ट्रप्रति उत्तरदायी जनशक्ति उत्पादन गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। युवापुस्तामा बढ्दो बेरोजगारी कम गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ।
अध्यक्ष राई भन्छन्, “अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ। युवालाई रोजगारीसँगै दिगो जीविकोपार्जनका आधारमा जोड्ने लक्ष्य हाम्रो हो। तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्ने अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ।”
आर्थिक अवस्था कमजोर भएका र दुर्गम क्षेत्रमा बसोबास गर्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालित यो कार्यक्रम अहिले भोजपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा भइरहेको छ। गाउँपालिकाबाट सदरमुकाम गई अध्ययन गरिरहेका ५० जना विद्यार्थी यसमा सहभागी छन्।
तयारी कक्षामा नियमित प्रशिक्षण, नमुना प्रश्नोत्तर अभ्यास र समूहगत छलफललाई प्राथमिकता दिइएको छ। स्थानीय सरकारले घरदैलोमै प्रतिस्पर्धात्मक परीक्षाको वातावरण तयार गरिदिएपछि विद्यार्थी र अभिभावक उत्साहित देखिएका छन्। गाउँपालिकाले यसपटकको उपलब्धि र प्रभावकारिता हेरेर आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।
Shares

प्रतिक्रिया