समाज


चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक

चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक

दिनेश सिटौला।


नेपालखबर
माघ १८, २०८२ आइतबार १३:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। 

दुई दिनदेखि काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर सिटौलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले जनाएको हो। 

रास्वपाका वरिष्ठ नेता शाहसँगै सुदूरपश्चिम भ्रमणका क्रममा अछाम पुगेका सिटौला माघ १६ गते बिहान बेहोस भएर ढलेका थिए। उनलाई अछामबाट हेलिकप्टरमार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो। 

बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो। जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। त्यहाँबाट हवाइ जहाजमार्फत काठमाडौँमा ल्याएको थियो। अस्पताल ल्याउँदा नै उनी बेहोस थिए। 

आईसीयू भेन्टिलेटरमा रहे पनि होस नखुलेकाले थप उपचार प्रक्रिया अगाडि बढ्न नसकेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार अस्पताल ल्याउदा नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो। 

अस्पतालमा ल्याउँदा नै उनी बेहोस रहेका थिए। आईसीयूमा राखेर होसमा ल्याउने प्रयास गरिए पनि सफल नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

चिकित्सकका अनुसार होसको अवस्था मापन गर्ने ‘ग्लास्गो कोमा स्केल (जीसीएस)’ सामान्य अवस्थामा १५ जीसीएस हुनुपर्छ। यो न्यूनतम ३ जीसीएसभन्दा तल झर्नुहुँदैन। सिटौलालाई अस्पताल आउँदा नै होसको अवस्था ३ जीसीएस रहेको थियो। जीसीएस सबैभन्दा कम भएकाले उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालले जनाएको छ। 

स्वास्थ्यमा सुधार नदेखिपछि अस्पतालले परिवारसँग संवाद गर्ने भएको छ। परिवारको सहमतिपछि उनको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गर्ने अस्पतालले जनाएको छ। 

रास्वपा वरिष्ठ नेता शाहसँगै ४३ वर्षीय सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ पुगेका थिए। माघ १६ गते बिहान बझाङबाट अछाम जाँदै गर्दा बेहोस भएर लडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad