समाज


द्रुतमार्गका ४ वटा सुरुङ ‘ब्रेक थ्रु’ (तस्बिरहरू)

द्रुतमार्गका ४ वटा सुरुङ ‘ब्रेक थ्रु’ (तस्बिरहरू)

नेपालखबर
माघ १७, २०८२ शनिबार १४:३२, काठमाडौँ

देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई(मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ। 

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३  पुगेको छ।

आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्। 

हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ।

सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम अघि बढाइएको छ। ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ। 

ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त दू्रतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ।  

आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ।

द्रुतमार्ग अन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन्। हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ। 

आयोजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।  

कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये  ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ। विशिष्ट प्रकृतिका त्यस्ता पुलहरु एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ।  

चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ। ती सबै पुलको कुल लम्बाइमात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ। आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ।  

द्रुतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ। त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ। 

आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन्। राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलोे दु्रतमार्ग हो।

फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ। आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ।

हेर्नुहोस् थप तस्बिर 

सबै तस्बिर रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad