नेपाल मानव धर्म सेवा समितिले ४३ विद्यालयका झण्डै चार हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजको जन्मोत्सको अवसर पारेर समितिले तीन हजार आठ सय ४७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। माघ ५ देखि १२ गतेसम्म सञ्चालित साप्ताहिक शैक्षिक सामग्री वितरण कार्यक्रममा समितिका देशभरका क्षेत्र तथा शाखा आश्रमहरूले कापी, कलम, स्कुल ब्याग, स्वेटरलगायत शैक्षिक सामग्री वितरण गरेको जनाएको छ।
ग्रामीण भेगका सामुदायिक विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री वितरण गरिएको समितिकी प्रमुख महात्मा चमेली वाईजीले बताइन्। काठमाडौँ उपत्यकाभित्रै पनि विकट स्थान रहेको र त्यहाँका सामुदायिक विद्यालयका विद्यार्थी वर्षभरी पुग्ने गरी कापी कलम किन्न सक्ने अवस्थाका नभएकाले कापीकलम वितरण गरिएको उनको भनाइ छ।
समितिले सम्पन्न विद्यार्थी र विपन्न विद्यार्र्थीबीच पुलको काम गरिरहेको उनले बताइन्। उनका अनुसार, समितिले शहरी क्षेत्रका निजी विद्यालयमा राखेको बाकसमा विद्यार्थीले आफूले सकेको कापी, कलम, पेनसिल, इरेजर, कटर हाल्ने गर्छन्। यसरी उनीहरूबाट संकलित सामग्री लिएर संस्थाका युवाले सरकारी विद्यालयमा आवश्यक परेका बालबालिकालाई वितरण गर्दै आएको छ।
Shares

प्रतिक्रिया