समाज


सर्लाहीमा फैलियो दादुरा, नियन्त्रण गर्न ८ हजार बालबालिकालाई खोप लगाइँदै

सर्लाहीमा फैलियो दादुरा, नियन्त्रण गर्न ८ हजार बालबालिकालाई खोप लगाइँदै

प्रज्ञा तिम्सिना
माघ १२, २०८२ सोमबार १९:४४, काठमाडौँ

सरकारले सर्लाहीको मलंगवा नगरपालिकामा दादुरा विरुद्धको खोप अभियान सुरु गरेको छ। मलंगवा नगरपालिकाको ३ र ४ वडाका २३ जनामा दादुरा संक्रमण देखिएपछि खोप अभियान सुरु भएको हो। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले मलंगवा नगरपालिको २३ जनामा दादुरा संक्रमण पुष्टि भएपछि ८ हजार बालबालिकामा खोप अभियान सुरु गरेको जनाएको छ। 

महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले १ महिनादेखि १४ वर्षका बालबालिकामा दादुरा संक्रमण देखिएको जानकारी दिए। विद्यालय र मदरसामा खोप केन्द्र सञ्चालन गरी खोप दिइने र पाँचौँ दिनमा स्वास्थ्य संस्थामा खोप दिइने उनले बताए।

डा गौतमले शंकास्पद २३ बिरामीमध्ये प्रयोगशाला परीक्षणका क्रममा १० देखि १४ वर्ष उमेरका ७ जनामा दादुरा संक्रमण पुष्टि भएको बताए।

‘ल्याब परीक्षण गर्दा ७ जनामा दादुरा देखिएको छ। तर २३ जनामा दादुराको लक्षण देखिएकाले तत्काल खोप अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘७ जनाको ल्याब परीक्षण गरिए पनि २३ जना बालबालिकामा नै दादुरा देखिएको हो।’

विद्यालयबाट फैलियो संक्रमण 
सर्लाहीमा पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएका थिए। प्रयोगशालामा परीक्षणका क्रममा माघ ११ मा दादुरा पुष्टि भएको हो। 

‘निजी विद्यालयमा पढ्ने एक विद्यार्थी मदरसामा पनि जाने गरेको पाइयो। मदरसा जाने बालबालिकामा एउटै लक्षण देखिएपछि स्थानीय तहले निगरानीमा राखेर परीक्षण गर्दा दादुरा पुष्टि भयो,’ डा गौतमले भने। 

उनले गत वर्ष राष्ट्रिय खोप अभियानमा खोप नलगाएका बालबालिकामा दादुरा देखिएको जनाए। 

खोप लगाउन छुटेका बालबालिकामा दादुरा देखिएका कारण मलंगवामा फेरि खोप अभियान सञ्चालन गरिएको उनले बताए। हाल मलंगवा नगरपालिकाको वडा नम्वर २, ३, ४, ८, ९ र १० मा खोप अभियान भइरहेको छ। 

‘६ स्थानमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिँदैछौँ। यो भनेको बलिरहेको आगोमा पानी हाल्न खोजिएको हो,’ उनले भने।

संक्रमण फैलिन नदिन भारतसँगको सीमा नाकामा थप निगरानी बढाएको उनी बताउँछन्। दिनहुँ संक्रमण देखिने बालबालिका बढिरहेका कारण जोखिम बढेको उनको भनाइ छ।

संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसँग समन्वय गर्दै अहिले घरघरमा खोजपड्ताल तथा निगरानी गरिरहेको छ।

के हो दादुरा रोग?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार दादुरा निकै छिटो फैलने संक्रामक रोग हो।

मिजल्स भाइरसको संक्रमणबाट हुने दादुराबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित हुन्छन्। श्वासप्रश्वासको माध्यमबाट सर्ने यो संक्रमण बाल मृत्यको मुख्य कारकसमेत हो।

एक व्यक्तिबाट अर्कोमा नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छयूँ गर्दा र खोक्दा भाइरस हावामा फैलिएर सर्छ।

ज्वरो आउनु र शरीरमा राता विमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन्। दादुरा लागेपछि ज्वरो आउने, सिँगान बगिरहने, आँखा रातो हुने, ज्वरो आएको तीन–चार दिनपछि शरीरमा रातो दाग देखिने हुन्छ। 

रोगीको सम्पर्कमा आएको १० देखि १२ दिनपछि मात्र दादुराको लक्षण देखिन्छ। 

दादुरा संक्रमित व्यक्तिमा डाबर र बिमिरा देखा पर्ने भन्दा ४ दिन अगाडिदेखि डाबर देखा परेको ४ दिन पछिसम्म पनि अर्को व्यक्तिमा सर्न सक्दछ। 

साथै संक्रमण जटिल हुँदा निमोनिया, फोक्सो, आँखा, कान, मस्तिष्कमा संक्रमणका कारण जटिल समस्या निम्तिन्छन्। दादुराबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन्।

बालबालिकामा धेरै देखिएको दादुरा जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ। 

दादुराबाट कसरी बच्ने?
दादुरा रोग लागेपछि यसको खास उपचार छैन। स्वास्थ्यकर्मीले लक्षण र जटिलता अनुसार उपचार गर्ने गरेका छन्। डा पुनका अनुसार दादुराको औषधि भनेकै दादुराविरुद्धको खोप हो। 

बिरामीलाई भिटामिन ए अनिवार्य रूपमा खुवाउनु पर्दछ। साथै अभियानमा समेत सबै बालबालिकालाई अनिवार्य रुपमा दादुरा खोप लगाउनु पर्दछ।

सरकारले दादुराबाट बचाउन राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत ९ महिना र १५ महिनामा दुईपटक खोप लगाउने गरेको छ। 

दादुरा लागेमा आइसोलेसनमा बस्ने/राख्ने, दादुरा भएका बालबालिकालाई भीडभाड वा सार्वजनिक स्थलमा नलैजाने, हाछ्युँ गर्दा वा खोक्दा मुख छोप्ने, दादुरा लागेको व्यक्तिको रुमाल, ओछ्यान प्रयोग नगर्ने, ज्वरो, आँखा पाक्ने, आँसु आउने, निमोनियाजस्ता समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने र भिटामिन ए पनि खुवाउने गर्नुपर्छ।

उन्मूलन हुने समयमा जोखिम बढ्दै 
सरकारले सन् २०२३ मा नै दादुरा उन्मूलन गर्ने घोषणा गरेको थियो। यसअघि नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो। तर त्यसबेला पनि धादिङ, जाजरकोटलगायतका जिल्लामा दादुराका बिरामी भेटिएपछि संक्रमण उन्मूलनको लक्ष्य २०२३ सम्मका लागि सारिएको थियो। त्यसयता प्रत्येक वर्ष दादुरा ‘आउटब्रेक’ हुने गरेको छ। 

सरुवारोग विशेषज्ञ डा पुन सरकारले खोप अभियान सञ्चालन गरिरहँदा पनि दादुरा ‘आउटब्रेक’ भइरहनुले जोखिम बढाएको बताउँछन्। 

डा पुन भन्छन्, ‘राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ९ देखि १५ महिनाको बालबालिकालाई खोप अभियान सञ्चालन भइरहेको छ। दादुरा फैलिनेबित्तिकै अभियान सञ्चालन हुन्छ। तैपनि दादुरा फैलिन कम नहुनुले जोखिम कम नभएको बुझाउँछ।’

केही समुदायमा खोप पूर्णतया प्रयोगमा ल्याउन नसकिएकाले संक्रमण निवारणमा चुनौती देखिएको उनले बताए। खोप शाखा प्रमुख डा अभियान गौतम खोप अभियान सञ्चालन गर्दा खोप लगाउन नआउने कारण दादुरा नियन्त्रण गर्नु चुनौतीपूर्ण भएको बताउँछन्। 

‘देशव्यापी अभियान सञ्चालन गछौँ, केही समुदाय खोप लगाउनै आउँदैनन्। त्यस कारण दादुरा उन्मूलन गर्ने लक्ष्य प्राप्त गर्न चुनौती बढ्दै छ,’ उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad