ad ad

समाज


नेपालगन्जमा कसरी फैलियो त्यति धैरै संक्रमण? यसो भन्छन् स्थानीय जनप्रतिनिधि

नेपालगन्जमा कसरी फैलियो त्यति धैरै संक्रमण? यसो भन्छन् स्थानीय जनप्रतिनिधि

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ८:२०,

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मात्रै आज (मंगलबार) सम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

सुरुमा गत शुक्रबार १ जना, आइतबार एकै दिन १५ जना र आज ७ जनामा कोरोना संक्रमण रहेको परीक्षणबाट पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी संक्रमितमा ७ वर्षदेखि ६० वर्षसम्मका छन् भने दुई बालिकासहित ११ महिला र १२ पुरुष छन्।

कसरी सुरु भयो संक्रमण?
नेपालगन्ज उपहानगरपलिका भारतसँग जोडिएको छ। सीमावारि नेपालगन्ज, सीमापारि भारत। त्यहाँ सामान्य अवस्थामा दैनिक नेपाल-भारत आउजाउ भइरहन्छ। किनमेलका लागि उताका मानिस यता आउने तथा यताका मानिस उता जाने गर्छन्।

‘औषधि चाहियो भने किन्न जाने ठाउँ भारत नै हो,’ नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मंगलबार दिउँसो टेलिफोनमा नेपालखबरसँग कुरा गर्दै भनिन्, ‘यहाँका नेपाली र भारतीयबीच सांस्कृतिक सम्बन्ध छ, एकअर्काका छोरी/चेली विवाह गरेका छन्, त्यसकारण दुवैतर्फ आउजाउ सामान्य हो।’

उनका अनुसार भारतमा कोरोना संक्रमित बढ्दै गएपछि नेपालगन्जमा पनि रुघाखोकीका बिरामी प्रशस्तै देखिएका थिए।

‘त्यतिबैले हामीले सरकारलाई कोरोना परीक्षणका लागि आग्रह गरेका थियौं,’ उपप्रमुख मगरले भनिन्, ‘तर सरकारले वास्ता नगर्दा यसले फैलिने मौका पायो।’

उदयपुरको घटनापछि मात्र परीक्षण सुरु
जब उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका १२ जमातीमा कोरोना संक्रमण देखियो तब मुस्लिम आयोगले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा देशका सबै जिल्लामा अनुगमन समिति गठन गर्‍याे र हरेक मस्जिद, मदरसाजस्ता ठाउँमा रहेका धर्मगुरु, अनुयायीको खाेजी तथा तिनकाे स्वास्थ्य परीक्षण सुरु गरियाे। 

त्यस क्रममा नेपालगन्ज उपहानगरपालिकामा पनि परीक्षण सुरु गरिएको उपमहानगरकी उपप्रमुख थापा मगर बताउँछिन्।

शंकास्पद व्यक्तिको नमुना परीक्षण गर्दा गत शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर नेपालगन्ज-५, डीएसपी रोडका ६० वर्षीय मुस्मिल धर्मगुरुमा कोरोना संक्रमण पुष्टि भयो।  जो, एक महिनाअघि भारतबाट फर्किएका थिए र उनी स्थानीय महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा सिकाउन घरघरै जाने गर्थे।

जब उनी संक्रमित देखिए तब उनीसँग सम्पर्क भएका व्यक्तिको ट्रेसिङ सुरु गरियो। त्यस क्रममा शनिबार ९० जनाको स्वाब संकलन गरी नेपालगन्जमै रहेको भेरी अस्पतालको प्रयोगशालमा परीक्षणका लागि पठाइयो।

तीमध्ये आइतबार एकैपटक १५ जना कोरोना संक्रमित भएको पुष्टि भयो। त्यसपछि अरू ५ जनाको स्वाब परीक्षणमा पठाइएको नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमाथापा मगर बताउँछिन्।

‘त्यही ९५ जनामध्ये आजसमेत गरेर २२ जनाका कोरोना संक्रमण पुष्टि भएको हो,’ उनले भनिन्, ‘ती पहिलो संक्रमितसँग सम्पर्क गरेकाहरूको परीक्षण त पूरा भयो, अब यी २२ जनाको ट्रेसिङ सुरु गरेका छौं।’

पहिलो संक्रमितसमेत गरेर नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ।

उपप्रमुख थापा मगरका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ मा देखिएको छ भने ती संक्रमितमध्ये वडा नम्बर ५ र ६ का बासिन्दा पनि छन्। उनका अनुसार वडा नम्बर ८ काे जोलहनपुरुवा, वडा नम्बर ६ काे बेहेना र वडा नम्बर ५ काे डीएसपी टाेलमा अहिले संक्रमण देखिएकाे हाे। 

‘अहिले कुन वडामा कति संक्रमित भन्ने ठ्याक्कै तथ्यांक मैले भन्न सकिनँ,’ उनले भनिन्, ‘तर जति संक्रमित देखिए यी तीन वडाका एकै टोलमा देखिएका हुन्।’

अब ती २२ संक्रमितसँग उठबस र सम्पर्क गरेका व्यक्ति पहिचान गरी सके आजै साँझ नसके भोलि बिहानसम्ममा स्वाब संकलन सुरु गरिने उनले जानकारी दिइन्।

‘हाम्रो पहिलो प्राथमिकता ती संक्रमितको परिवार र एकदमै नजिकको सम्बन्धमा रहेका व्यक्ति रहनेछन्,’ उनले भनिन्, ‘त्यसपछि अन्य व्यक्तिको पनि खोजी गरी स्वाब परीक्षणलाई व्यापक रूपमा अगाडि बढाउने योजनामा छौं।’

अहिले नै कहाँबाट यो संक्रमण सर्‍याे भन्ने निष्कर्षमा निकाल्न नसकिने उनको भनाइ छ।

‘नेपाल-भारत आहोरदोहोर सामान्य भएकाले यसैबाट संक्रमण सुरु भयो भन्न सकिने स्थिति छैन,’ उपहानगरपालिकाकाे बैठकमै रहेकी उपप्रमुख थापा मगरले नेपालखबरसँग भनिन्, ‘यो महामारी कुनै जात, धर्म भनेर आउने होइन, त्यही भएर हामी यसका निहुँमा सामाजिक सद्भाव नबिथोलियोस् भनेर सञ्चारमाध्यम तथा सार्वजनिक सूचनामार्फत अपिल पनि गरिरहेका छौं।’

याे पनि: 

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगन्ज निषेधित क्षेत्र घोषणा, तीन दिन कोही पनि घरबाट निस्कन नपाउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .