समाज


सर्लाहीमा वन हेरालुको टाउको बिनाको शव भेटियो

तालिम प्राप्त २ वटा कुकुसहित राति पनि प्रहरी घटनास्थलमा
सर्लाहीमा वन हेरालुको टाउको बिनाको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८२ शनिबार २१:५१, काठमाडौँ

सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एकजना वन हेरालुको विभत्स हत्या भएको छ। 

शनिबार साँझ ईश्वरपुर नगरपालिका–२ राइटरखोर निवासी ४७ वर्षीय रामईश्वर महतोको टाउको बिनाको शव भेटिएको जिल्ला प्ररहरी कार्यालय सर्लाहीले जनाएको छ। 

‘बिहान घरबाट काममा निस्किएका वन हेरालुको टाउको काटिएको अवस्थामा शव भेटिएको छ,’ सर्लाहीका डीएसपी सरोज राईले नेपालखबरसँग भने, ‘हाम्रो टोली अहिले पनि घटनास्थलमै छ। शवको टाउको भेटिएको छैन। नजिकै पोखरी पनि छ। हत्याराले टाउको त्यही पोखरीमा फालेको आशंकामा हामी जाल हानेर खोजी गरिरहेका छौँ।’

शव नजिकै रगत लतपलिटएको बञ्चरो पनि फेला परेको राईले बताए। ‘घटनास्थल हेर्दा त्यही बञ्चरोले टाउको गिँडेको जस्तो देखिन्छ,’ उनले भने। 

प्रहरीले वन रक्षक महतोको हत्यामा संलग्न भएको आशंकामा गाउँकै शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ। तर, प्रहरीले यस विषयमा आधिकारिक जानकारी दिएको छैन। 

घटनाको जानकारी पाएपछि डीएसपी राई, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर नितेशकुमार सिंह, वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीसहित ठूलो संख्यामा स्थानीय र प्रहरी टोली शनिबार साँझ घटनास्थलमा पुगेका छन्। 

घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए। 

घरदेखि करिब पाँचसय मिटर पर सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटको बाटोदेखि अन्दाजी एकसय मिटर पूर्वतर्फ झाडीमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको हो। खोजी गर्ने क्रममा सुरुमा महतोकै ज्वाइँ वीरबहादुर सिंहले शव भेटेका थिए। 

आज बिहान ५ बजेतिर जंगलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो साइकल चढेर त्यसतर्फ गएका परिवारका सदस्यले बताएका छन्।

उनी साँझसम्म पनि घर फर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। उनको फोनसमेत स्वीच अफ छ। 

आफन्तले गाउँलेले खोज्ने क्रममा शनिबार साँझ जंगलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको डीएसपी महतोले बताए। वनका चौकीदारको हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन्।

सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा एक्लै वन रक्षकको काम गर्ने महतोको निर्ममतापूर्वक हत्याले आफू स्तब्ध भएको बताए। 

प्रहरीले टाउको बिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad