समाज


नेपालमा पहिलो पटक यसरी सफल भयो १०३ वर्षकी महिलाको मस्तिष्क शल्यक्रिया (भिडिओ)

नेपालमा पहिलो पटक यसरी सफल भयो १०३ वर्षकी महिलाको मस्तिष्क शल्यक्रिया (भिडिओ)

प्रज्ञा तिम्सिना
पुस १७, २०८२ बिहिबार २०:२, काठमाडौँ

यसै पनि मस्तिष्कको शल्यक्रिया सबैभन्दा जटिल र जोखिमपूर्ण मानिन्छ। त्यसमा पनि पाका मान्छेको शल्यक्रियामा अझ धेरै जोखिम हुन्छ। सय वर्ष नाघेकामा त शल्यक्रियामा आफैँमा दुर्लभ हो। यही दुर्लभ काम गर्दै नेपालको चिकित्सा क्षेत्रले शल्यक्रियामा नयाँ सफलता हासिल गरेको छ।

देशकै जेठो वीर अस्पतालले १०३ वर्षीया तोरणकुमारी बानियाँको मस्तिष्कको शल्यक्रिया गरेर इतिहास रचेको हो। सामान्यतः ८० वर्षमाथिका व्यक्तिमा शल्यक्रिया जोखिमपूर्ण मानिन्छ। तर, ती सबै जोखिमलाई चुनौती दिँदै वीर अस्पतालले पहिलो पटक यस्तो शल्यक्रिया गरेको हो। न्युरो शल्यचिकित्सक डा राजीव झाको टोलीले यो सफलता हासिल गरेको हो। वीरले यसअघि ९५ वर्षका व्यक्तिको मात्र शल्यक्रिया गरेको थियो।

१०३ वर्षकी तोरणकुमारी कोटेश्वरकी बासिन्दा हुन्। उमेरका कारण उनलाई हिँड्न, बस्न, देख्न समस्या हुँदै गएको थियो। गत पुस १२ गते भने उनी एक्कासि खुट्टा टेक्न नसक्ने र आँखा देख्न नसक्ने भइन्। उनलाई लगातार बान्ता हुन थाल्यो। परिवारका सदस्यले उमेरका कारण होला भन्दै सामान्य औषधि दिएर राखे।

भोलिपल्ट बिहान समस्या झन् बढ्दै गयो। उनी बोल्न, हिँड्नै नसक्ने भइन्। परिवारका सदस्यले आत्तिँदै उनलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगे।

अस्पताल पुग्दा चिकित्सकले उनको ‘ब्रेन ह्यामरेज’ (मस्तिष्कमा रगत जमेको) बताए। उमेरका कारण शल्यक्रिया निकै जटिल भएकले तत्काल शल्यक्रिया गर्नु पर्ने भन्दै छिटो निर्णय लिन चिकित्सकले भने। शल्यक्रिया गर्न ३ लाख खर्च आवश्यक पर्‍यो।

उनको परिवार सो रकम जुटाउन असमर्थ थियो। अनि उनलाई वीर अस्पताल लैजाने निर्णय गरियो।

वीर अस्पताल लगेपछि पनि चिकित्सकले तत्काल शल्यक्रिया गर्नु पर्ने बताए। शल्यक्रियापछि निको हुने भन्दै चिकित्सकले नआत्तिन भने। आइतबार रातिको १२ बजे उनको शल्यक्रिया गरियो। 

शल्यक्रियापछि तोरणकुमारी बोल्न, खान सक्ने भएकी छिन्। उनकी नातिनी बुहारी मनिषा गिरी उनको अवस्थामा यति राम्रो सुधारको कल्पना पनि गर्न नसकिएको बताउँछिन्।

‘हजुरआमालाई यो अवस्थामा देख्न पाउछौँ होला भन्ने नै सोचेका थिएनौँ। बोल्नै नसक्ने हुनु भएको थियो। अहिले त खान, मज्जाले बोल्न सक्ने हुनुभएको छ,’ उनले भनिन्।

तोरणकुमारी यसअघि पनि स्वास्थ्य समस्या हुँदा वीर अस्पतालमा लैजान भन्ने गर्थिन्।

‘हजुरआमालाई वीर अस्पतालप्रति निकै विश्वास थियो। पहिला पनि केही भए वीर अस्पताल मात्र जान्छु भन्नुहुन्थ्यो। वीर अस्पताल गयो भने म ठीक हुन्छु भन्ने थियो। आज वीर अस्पताल आएर नै निको भयो। हजुरआमाको विश्वास पुरा भयो,’ मनिषाले भनिन्।

६ महिनाअघि उनले छोरा गुमाइन्। बुहारीको सवारी दुर्घटनामा दुवै खुट्टा भाँचिएको छ। उनलाई २ नातिनी बुहारीले अस्पतालले लगेका थिए। घरको आर्थिक अवस्था कमजोर भएका कारण वीर अस्पतालका चिकित्सकले सहयोग गरेको मनिषा बताउँछिन्। 

अस्पतालले शल्यक्रिया निशुल्क गरेको छ। 

चिकित्सकले प्यारालाइसिस हुन सक्ने सम्भावना छ भनेका थिए। अहिले सबै अङ्गहरू चल्ने भएको छ। चिकित्सकलले डिस्चार्जको तयारी गरेका छन्।

१०३ वर्षीयाको मस्तिष्कको शल्यक्रिया कत्तिको चुनौतीपूर्ण थियो? यो सफलता कसरी हासिल भयो? ब्रेन ह्यामरेज किन हुन्छ? यिनै विषयमा न्युरो शल्यचिकित्सक डा राजीव झासँगको वार्ता :


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad