शिक्षकलाई तोकिएको ४० वर्षभन्दा दुई महिना बढी उमेर भएकाले नियुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आइतबार काठमाडौँको टोखा नगरपालिका-१०, गोंगबुस्थित मनोहर माविका तत्कालीन प्रधानाध्यापक वासुदेव अधकिारी र शिक्षिका कल्पना पनेरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। प्रधानाध्यापक अधिकारीले उमेरहद नागेकी शिक्षिका पनेरूलाई नियुक्ति दिएको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता अधिकारीको भनाइ छ।
अख्तियारले विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपत्र अनुसार, २०७२ सालमा जिल्ला शिक्षा समिति, काठमाडौँले उच्च माध्यमिक तहको अनुदान कोटामा दुई सीट मनोहर माविलाई दिएको थियो। सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधन सहित) अनुसार, उच्च मावि तहको शिक्षकका लागि २१ देखि ४० वर्ष उमेर तोकिएको छ।
प्रधानाध्यापक अधिकारीले विद्यालय व्यवस्थापन समितिको बैठकबाट शिक्षिका पनेरूलाई उच्च मावि तहको शिक्षकमा नियुक्त दिने निर्णय गराएका थिए। त्यतिवेला शिक्षिका पनेरूको उमेर ४० वर्ष २ महिना ७ दिन रहेको पाइएको अख्तियारले जनाएको छ।
तोकिएको उमेरभन्दा २ महिना ७ दिन बढी उमेर भएकाले शिक्षिका पनेरूलाई उक्त कोटामा नियुक्ति दिन नमिल्ने अख्तियारको भनाइ छ। विद्यालयमा कार्यरत भएकाले उमेरहद नलाग्ने भनेर नियुक्ति दिएकाले मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए। अख्तियारले दुवै जनालाई कैद र जरिवानाको मागदाबी गरेको छ।
Shares

प्रतिक्रिया