त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज काठमाडौँको दशरथ रंगशालामा हुँदै छ। यसपालि समारोहमा १६ हजार विद्यार्थी दीक्षित हुने त्रिविले जनाएको छ।
समारोहमा २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) गरेका विद्यार्थी सहभागी हुँदै छन्।
त्रिविबाट विभिन्न संकाय र तहमा यस वर्ष ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जना दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
पहिलो पटक नोबेल पुरस्कार विजेता प्रमुख अतिथि
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हुने समारोह यसपालि खास हुनेवाला छ। त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुस्कार पाएका व्यक्ति समारोहको प्रमुख अतिथि बन्दै छन्।
ती विशिष्ट व्यक्ति हुन्– सन् २०१५ मा नोबेल पुरस्कार पाएका जापानका ताकाआकी काजिता। उनी त्रिविका उपकुलपति प्राडा दीपक अर्यालको अनुरोधमा नेपाल आएका हुन्। हाल उनी जापानको टोकियो विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्।
त्रिविको उपकुलपतिमा नियुक्त भएसँगै अर्यालले दीक्षान्त समारोहमा नोबेल पुरस्कार प्राप्त व्यक्ति ल्याउने सोच बनाएका थिए।
जापानको नागासाकी विश्वविद्यालयबाट वायुमण्डलीय विज्ञान विषयमा स्नातकोत्तर गर्न गएको समयमा उपकुलपति अर्यालको ताकाआकीसँग भेट भएको थियो।
त्रिविलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन र विद्यार्थीलाई उत्प्रेरणा जगाउन पनि नोबेल पुरस्कार प्राप्त व्यक्तिलाई दीक्षान्त समारोहमा निम्त्याउने निर्णय गरेको उपकुलपति अर्याल बताउँछन्।
भन्छन्, ‘नोबेल पुस्कार पाएको व्यक्ति दीक्षान्त समारोहमा आउँदा हाम्रा विद्यार्थीलाई पनि उनीबाट उत्प्रेरणा मिलोस्। हामी पनि नोबेल पुरस्कार पाउन सक्छौँ भन्ने अभिप्रेरणा मिलोस् भन्ने ध्येयले यो निर्णय गरेँ।’
ताकाआकीले समय उपलब्ध गराउन सक्ने दिन दीक्षान्त समारोह राखिएको हो। इसाई धर्मावलम्बीहरूले क्रिसमसको बिदाको दिन दीक्षान्त समारोह नराख्न अनुरोध गरेका थिए। तर, त्रिविले दीक्षान्त समारोह नसार्ने निर्णय गरेको छ।
भौतिकशास्त्रका पुराना मान्यतालाई गलत साबित गर्दै जितेका थिए नोबेल पुरस्कार
ताकाआकीको जन्म ९ मार्च १९५९ मा जापानको हिगासी मात्सुयामा सामान्य परिवारमा भएको हो। उनको खोज ‘न्युट्रिनो’सँग सम्बन्धित छ।
न्युट्रिनो भनेको त्यस्तो सूक्ष्म कण (पार्टिकल्स) हो, जुन साधारण माइक्रोस्कोपले समेत देख्न सकिन्न। यस्ता कण सूर्यमा उत्पन्न भएर हरेक सेकेन्ड अर्बौंको संख्यामा पृथ्वीबाट पार भइरहेको हुन्छ। आधारभूत कण भनिने न्युट्रिनोले पदार्थहरूसँग विरलै अन्तक्र्रिया गर्ने हुनाले यी पृथ्वीबाट अझ भन्दा कुनै भित्ता वा मानिसको शरीरबाट सहजै पार भएर जान्छन्। त्यसैले ताकाआकीको खोज अघिसम्म न्युट्रिनोको तौल हुँदैन भन्ने मानिन्थ्यो।
तर, लामो अध्ययनपछि ताकाआकीले न्युट्रिनोले यात्राको क्रममा आफ्नो स्वरूप बदल्छ भन्ने पत्ता लगाए। स्वरूप बदलिएपछि तिनको तौल पनि हुन्छ भन्ने पुष्टि भयो।
उनको यो खोजपछि वैज्ञानिकहरूलाई सूक्ष्म अणुसम्बन्धी भौतिकशास्त्रमा ठूलो क्रान्ति आयो र ब्रह्माण्डबारे थप बुझ्न मद्दत पुग्यो।
संसारभरिका वैज्ञानिकको विश्वासलाई नै चुनौती दिने यो खोज उनले कुनै सहरको ल्याबमा बसेर गरेका थिएनन्। उनले अँध्यारो सुरुङभित्र धैर्यताका साथ अध्ययन गरेर नयाँ खोज पत्ता लगाएका थिए।
यही खोजका कारण उनी सन् २०१५ मा क्यानेडियन वैज्ञानिक आर्थर बी म्याक्डोनाल्डसँग संयुक्त रूपमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित भए। म्याक्डोनाल्डले पनि सूर्यबाट आउने न्युट्रिनोका बारेमा ताकाआकीको जस्तै निष्कर्ष निकालेका थिए।
ताकाआकी विद्यालय तहदेखि नै भौतिकशास्त्रमा रचि राख्थे। त्यसमा पनि ‘एक्सपेरिमेन्टल पार्टिकल फिजिक्स’मा उनको चासो ज्यादा थियो। टोकियो नजिकैको साइतामा विश्वविद्यालयबाट उनले भौतिकशास्त्रमा अन्डरग्य्राजुएट गरे। उनले सन् १९८१ मा साइतामा विश्वविद्यालयबाट स्नातक र सन् १९८६ मा टोकियो विश्वविद्यालयबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरे। १९८८ उनले टोकियो विश्वविद्यालयको अनुसन्धान केन्द्रमा सहायकका रूपमा काम गर्न थाले।
१० वर्षको खोजपछि उनले सन् १९९८ मा न्युट्रिनोले रूप बदल्ने तथ्य प्रमाणित गरिदिए।
ताकाआकीको तथ्यांकसँग अनौठो प्रेम थियो। सानासाना तथ्यांकहरू केलाउन उनी अल्छी गर्दैनथे। घण्टौँसम्म उनी कम्प्युटरको स्क्रिनमा न्युट्रिनो ठोक्किँदा निस्कने प्रकाशको ग्राफ हेरेर बस्थे। कहिलेकाहीँ महिनौँसम्म पनि कुनै नतिजा हात पर्दैनथ्यो। तर पनि उनी थाक्दैनथे।
वर्षौंदेखिको लगन र मेहनतले आज उनलाई विश्वसामु परिचित बनाएको छ। उनको संसार चकित बनाउने खोज विज्ञानका विद्यार्थीका लागि निकै महत्त्वपूर्ण बनेको छ। सोही कारण आज सबैबाट उनी सम्मानित छन्।
२५ जनाले पाउने छन् ताकाआकीबाट सम्मान
त्रिविको दीक्षान्त समारोहमा ताकाआकीबाट विभिन्न संकायबाट उत्कृष्ट २५ जनाले पदक तथा पुरस्कार पाउने छन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक विशाल जोशीले पाउँदैछन्। व्यवस्थापन संकायबाट एमफिल गरेका उनले ३ दशमलव ९४ जीपीए ल्याएका छन्।
एमबीएमा ३ दशमलव ९३ जीपीए ल्याएकी रक्षा भेटवालले श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक पाउँदैछिन्
त्यस्तै, मदन विद्या वातावरण विज्ञान पदक निरु बस्नेतले, नेबैँलि सरदार गुञ्जमान सिं स्वर्ण पदक सुनिता पुडासैनीले, रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार समिता महर्जनले, बडाकाजी मरिचमान सिंह पदक र ललित चन्द्र पुरस्कार प्रतिभा पौडेलले पाउँदैछिन्।
बुटवल बहुमुखी क्याम्पसका कमल पौड्लले तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पदक पाउँदैछन्। रुद्रकुमारी घिमिरे स्मृति पदक रवीन्द्र पण्डितले, डा दुबसु क्षेत्री स्वर्ण पदक सुजन लामिछानेले, शान्तिनारायण मिश्र पदक रस्मिता कार्कीले, नारायण शान्ति मिश्र पदक अनुसा रोका र सुमन रिजाल पदक सौरभ कोइरालाले पाउनेछन्।
त्यस्तै, रामविक्रम शान्ता सिजापति पदक आर्यन भट्टराईले, भाइस चान्सलर पदक र सत्य माँ स्मृति स्वर्ण पदक फुर्वा शेर्पाले पाउनेछन्।
प्रितम चित्रकार पुरस्कार उबेन्द्रकुमार तामाङले, लोकराज ज्ञवाली पदक र पुरस्कार भावना अधिकारीले, शिवराज पन्त स्मृति पुरस्कार गौरव भुसालले, नेबैलि छत्रबहादुर पदक अन्वेश पोखरेलले, टीकावल्लभ डिलकुमारी घिमिरे स्मृति पदक अग्रनी पौडेल र ज्ञानप्रसाद पुरस्कार सुभार्षी कार्कीले पाउँदै छन्।
Shares

प्रतिक्रिया