‘हाम्रो पार्टी नेपाल’का सभापति खगेन्द्र सुनारले धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले यसका उपाध्यक्ष मित्र परियारलाई कारबाही गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आफूलाई गरिएको अपमान र विभेदविरुद्ध बोलेकै भरमा गरिएको निलम्बन र त्यस पार्टीका अध्यक्षले दिएको अभिव्यक्तिले सिंगो दलित समुदायप्रति श्रम संस्कृति पार्टीको दृष्टिकोण छर्लंग भएको सुनारले उल्लेख गरेका छन्।
परियारलाई गरिएको कारबाही फिर्ता लिन माग गर्दै सुनारले अन्यथा श्रम संस्कृति पार्टीमा आबद्ध दलितहरूलाई सामूहिक राजीनामा दिनसमेत अपिल गरेका छन्।
‘सामाजिक अभियन्ता तथा नेता डाक्टर मित्र परियारलाई उहाँ संलग्न पार्टीले गरेको कारबाही र व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। आफूमाथि भएको अपमान र विभेदका विरुद्ध बोलेकै भरमा गरेको कारबाही र सो पार्टीका अध्यक्षले दिएको अभिव्यक्तिले सिंगो दलित समुदायप्रति उक्त पार्टीको दृष्टिकोण स्पष्ट भएको छ’, सुनारले बुधबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेता परियारप्रति गरिएको कारबाही फिर्ता लिन ध्यानाकर्षण गराउँदै अन्यथा उक्त पार्टीमा आबद्ध सबै दलित समुदायलाई सामूहिक राजीनामा दिन र आगामी चुनावमा उक्त पार्टीलाई दलित समुदायले बहिष्कार गर्न अपिल गर्दछौँ। स्मरण रहोस्, मित्र परियार व्यक्ति हैनन्, एक आन्दोलन र ६० लाख दलितका प्रतिनिधि हुन्। उनीमाथिको अपमान हामीलाई मान्य छैन।’
यसअघि स्वयं परियारले पनि अध्यक्ष राईले आफूलाई ‘बालीघरे दमाईं’ सम्झिएको टिप्पणी गरिसकेका छन्।
‘फेसबुकमा दोहोरी खेल्न मन त थिएन, तर कुरा गर्न हर्क राईको फोनै नउठ्ने रहेछ। निलम्बनको चिठी देखेपछि यति लेख्न बाध्य भएँ’, परियारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लन्डनमा पढाउन छाडेर जातीय मुक्तिका लागि संघर्ष गर्न फर्केको मान्छेलाई धराने मेयरले बालीघर सिउने दमाईं सम्झिनुभएछ! तपाईंको भाषण डेढ घण्टा सुनिदिनुपर्ने! मेरो भाषणचैँ दुई मिनेट नसुन्ने? कसैको रैती बन्न सकिन्छ?’
यद्यपि उनले अध्यक्ष साम्पाङलाई आफ्नो दृष्टिकोण परिवर्तन आग्रह गर्दै फेरि सँगै हुन सकिने आशा पनि व्यक्त गरेका छन्।
परियारले अंग्रेजीमा लेखेका छन्, ‘चेन्ज योर एटिच्युड, सर एन्ड आई मे बि विथ योर अगेन (आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्, सर र म फेरि सँगै हुन सक्छौँ)।’
अध्यक्ष राईले गत सोमबार विज्ञप्ति जारी गरी पार्टीको आचारसंहिता उल्लंघन गरेकाले उपाध्यक्ष परियारलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा अध्यक्ष राईले लेखेका छन्, ‘२०८२-९-५ गते बुटवलमा आयोजित आमसभामा आयोजकमाथि पार्टीका उपाध्यक्षमा मनोनीत श्री मित्र परियारले पार्टीको आचारसंहिताको बर्खिलाप हुने गरी अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु (कारण-१) का साथै जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको (कारण-२) हुनाले कारबाही गरी पदबाट निलम्बन गरिएको जानकारी गराउँदछु! श्रम संस्कृति पार्टीमा कोही नेता या कोही कार्यकर्ता नहरने, सबै श्रमदाता रहने भएको हुँदा कोही कसैले 'केन्द्र समितिको हुँ' भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै प्रकारको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु।’
यसअघि घटनाकै दिन शनिबार सामाजिक सञ्जालमार्फत ‘नसच्चिएसम्म कारबाही’ गरेको भनी जानकारी गराएका राईले सोमबार पार्टीको लेटरप्याडमै लेखिएको आधिकारिक सूचना जारी गरेका हुन्।
देशदौडाहा अभियानअन्तर्गत श्रम संस्कृति पार्टीले शनिबार रुपन्देहीको बुटवलमा चुनावी सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए।
त्यस क्रममा परियारले आयोजकप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।
त्यस सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू! यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू।...म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन।...’
Shares

प्रतिक्रिया