काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पाठेघरको सालसम्बन्धी जटिल अवस्थाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको छ।
पाठेघरको मुख तथा भित्तामा साल टाँस्सिने जटिल अवस्था ‘सेन्ट्रल प्लेसन्टा प्रेभिया विथ प्लेसेन्टा पेक्रेटा’ भएकी महिलाको सफल शल्यक्रियामार्फत् प्रसूति गराइएको अस्पतालले जनाएको छ। मातृमृत्युदर उच्च रहने यस्तो केस दुर्लभ अवस्था हो।
अस्पतालकी प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख प्राडा अचला वैद्य नेतृत्वको टोलीले गत मंसिर १२ गते नेपालगन्जकी महिलाको सी-सेक्सनमार्फत् प्रसूति गराएको थियो। आमा र बच्चा दुवैको अवस्था सामान्य भएपछि बिरामी डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।
डा. वैद्यसहित प्राडा अमृता गिरी, डा. सुरेश कायस्थ र डा. सविना अर्यालले शल्यक्रिया गरेका हुन्। त्यस्तै, एनेस्थेसियामा डा. प्रज्वल श्रेष्ठ, डा. सुरेश लामिछाने र डा. विनोद तिमल्सिना संलग्न थिए।
सामान्य गर्भावस्थामा शिशु निस्किएपछि साल निस्कने गर्छ। तर, नेपालगन्जकी महिलामा भने पाठेघरको मुखमा साल टाँस्सिने ‘सेन्ट्रल प्लेसेन्टा प्रेभिया’ र टाँस्सिएको साल पाठेघरको मांसपेसी छेडेर बाहिर निस्कने ‘प्लेसेन्टा पेक्रेटा’ दुवै भएको जटिल अवस्था रहेको अस्पतालले जनाएको छ।
शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार, साल पिसाबथैलीमा समेत फैलिएको थियो। यस्तो अवस्थामा नर्मल डेलिभरी गराउन सम्भव हुँदैन भने सी-सेक्सन गराउँदा पनि अत्याधिक रक्तस्राव हुने जोखिम हुन्छ। ‘यस्तो खालको जटिल केस मेरो लाइफमै पहिलो पटक र सम्भवतःस् नर्भिकमै पनि पहिलो हो,’ डा. वैद्यले भनिन्।
२० हप्तादेखि नियमित गर्भ परीक्षण गर्दै चिकित्सकको निगरानीमा रहेकी महिलाको ३७ हप्तामा सी-सेक्सनमार्फत् प्रसूति गराइएको हो। ‘निकै संयमता अपनाएर सफल प्रसूतिमार्फत् आमा र बच्चा दुवैको ज्यान बचाउँन सफल भयौँ,’ उनले भनिन्।
सालको रोग पाठेघरमा फैलिएकाले प्रसूति गराउने क्रममा अत्याधिक रक्तश्राव भएपछि महिलालाई बचाउँन पाठेघर नै निकालिएको डा. वैद्यले बताइन्। शल्यक्रियापछि १० दिन अस्पतालमा राखेर स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
डा. वैद्यका अनुसार ती महिलाको यसअघि ३ पटक पाठेघरको शल्यक्रिया गरिएको थियो। पहिलो पटक पाठेघरमा मासु पलाएको उपचारपछि तीन वर्षअघि सी-सेक्सनमार्फत् प्रसूति गराइएको थियो।
यस्तै दोस्रो पटक एक्टोपिक प्रेग्नेन्सी भएकाले शल्यक्रिया गरिएको थियो। पटक-पटक पाठेघरमा समस्या र शल्यक्रिया भएकाले गर्भावस्थामा सालसम्बन्धी जटिल समस्या देखिएको डा. बैद्यले बताइन्।
Shares

प्रतिक्रिया