सुनसरी, कपिलवस्तु र डोल्पामा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बर्रोहियामा लु. १८ प ८७६९ नम्बरको मोटरसाइकललाई लु. प्र-०१-००१ ख ०६८३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका-६ डुमररा बस्ने २४ वर्षीय ओसामा मोहमद मुसलमान रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सुनसरीको हरिनगरा गाउँपालिका-१ चप्राहीस्थित सडकमा प्र.१-०२-०४८ प ८०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय अफरोज अंसारी रहेका प्रहरीले जनाएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा क.१ प १२१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ठूलिभेरी नगरपालिका-४ पिप्ला बस्ने ३५ वर्षीय नेत्र रोकाय रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी हस्पिटल काठमाडौँमा थप उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया