मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बुधबार बिहान) तराईका अधिकांश स्थानमा कुहिरो लागेको छ।
यसले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
महाशाखाका अनुसार दिउँसो पनि देशका तराई भूभागमा हुस्सु रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरोसमेत लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने छ।
यस्तै राति पनि तराई भूभागमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसविद्ले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया