ad ad

समाज


बलात्कार प्रयास आरोपमा पति र जेठाजु पक्राउ, मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार लिने व्यक्ति अख्तियारको फन्दामा

बलात्कार प्रयास आरोपमा पति र जेठाजु पक्राउ, मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार लिने व्यक्ति अख्तियारको फन्दामा

नेपालखबर
बैशाख २०, २०७७ शनिबार ५:४४,

कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा उनकै पति र जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ।

कैलालीको गौरीगंगा नगरपालिका निवासी किशोरीले आफूलाई आफ्ना श्रीमान् र श्रीमानका दाजु अर्थात् जेठाजुले जबर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।

‘उनका पति उनकै उमेर (१६ वर्ष)का अझ कमका होलान्, जेठाजुचाहिँ २०-२२ वर्षका छन्,’ शनिबार बिहान कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले टेलिफोनमार्फत जानकारी दिए, ‘दुवैलाई पक्राउ गरी अहिले हिरासतमा राखेका छौं।’

किशोरीले जाहेरीमा घटना यही वैशाख १५ गते राति भएको उल्लेख गरेकी छन्।

उनका अनुसार पतिले पहिलेदेखि कुटपिट गर्ने तथा घरेलु हिंसा गर्ने गरेका थिए भने यसअघि घरबाहिर रहेका जेठाजु पनि घर आएपछि मिलेर आफूलाई कोठामा एक्लै भएका बेला राति जबर्जस्ती करणी गर्न खोजेका हुन्। 

उजुरीलगत्तै दुवैलाई शुक्रबारै पक्राउ गरिएको डीएसपी बस्नेतले बताए।

उनका अनुसार ती किशोरीले स्कुल पढ्दापढ्दै करिब १ वर्षअघि मात्र भागी विवाह गरेकी थिइन्।

‘दुवै नाबालिग रहेछन्,’ उनले भने, ‘स्कुलबाटै भागेका रहेछन्।’

किशोरीका जेठाजु भने अविवाहित हुन्।

आज शनिबार परेकाले भोलि आइतबार अदालत खुलेपछि म्याद थप गरी अनुसन्धान अघि बढाइने डीएसपी बस्नेतले नेपालखबरलाई जानकारी दिए।

मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने व्यक्ति अख्तियारकाे फन्दामा 
यसैबीच उक्त मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने व्यक्ति रकमसहित पक्राउ परेका छन्।

डीएसपी बस्नेतका अनुसार किशोरी बलात्कार प्रयास काण्ड मिलाइदिन्छु भन्दै पीडकबाट लिएको ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले स्थानीय बिर्खबहादुर धामीलाई पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार कैलालीको गौरीगंगा नगरपालिका-१० का धामीलाई आयोगकाे कञ्चनपुरस्थित कार्यालयबाट खटिएको ५० हजार रुपैयाँ घुससहित गौरीगंगा-८, बढैपुर बजारबाट नियन्त्रणमा लिएकाे हो। उनी सामुदायिक वन उपभोक्ता समिति उदासीपुरका अध्यक्ष रहेकाे विज्ञप्तिमा उल्लेख छ। 

यसअघि पनि हालै कैलालीमा सामूहिक बलात्कारका दुई घटना भएका छन्। जसमा संलग्नलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाइरहेकाे छ।

‘बलात्कारजस्तो जघन्य अपराधका घटनामा प्रहरीले कसैको भनसुनलगायतका कुनै सम्झौता गर्दैन,’ डीएसपी बस्नेतले भने, ‘कानुनअनुसार कडाइपूर्वक कारबाही प्रक्रिया अघि बढाइने।छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .