समाज


पूर्वआईजीपी खापुङ र सचिव दुवाडीसँग आज बयान लिँदै जाँचबुझ आयोग

यसपछि वर्तमान आईजीपी कार्कीको पालो
पूर्वआईजीपी खापुङ र सचिव दुवाडीसँग आज बयान लिँदै जाँचबुझ आयोग

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ९:४४, काठमाडौँ

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले आज (बिहीबार) पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ। 

उनीहरूसँग बयान लिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले बुधबारै प्रश्न तयार पारिसकेका छन्। यसअघि आयोगले मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको थियो। 

खापुङ जेनजी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए। भदौ २३ गतेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ। 

यसअघि खापुङलाई आयोगले स्पष्टीकरण पनि मागेको थियो। आयोग गठन भएको केही दिनमै आयोगले प्रहरीसँग फिल्डमा खटिएका प्रहरीहरूको विवरण माग गरेको थियो। जवाफमा प्रहरीले जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको जानकारी गराएको थियो।

त्यसपछि आयोगले अर्को पत्र पठाएको थियो। तर लामो समयसम्म जवाफ नपठाएपछि आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टाको समय दिँदै स्पष्टीकरण मागिएको थियो। यहीबीच उनले स्पष्टीकरणसहित आयोगले माग गरेको विवरण पनि पठाएका थिए।

त्यसको केही दिनमै कात्तिक २६ गते खापुङ अनिवार्य अवकाश भएका थिए। अवकाशमा गएका खापुङसँग त्यतिबेलाको घटनामा आयोगले सोधपुछ गर्न लागेको हो। 

पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग आयोगले आजै बयान लिने भएको छ। जेनजी आन्दोलनका बेला गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते राष्ट्रिय योजना आयोगमा सरुवा गरिसकेको छ। गृहसचिवको जिम्मेवारी रामेश्वर दंगालले पाएका छन्। 

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि अनुमति लिन भनेको थियो। यसबीच उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका पनि छन्।

जेनजी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो।

आज दुवाडी र खापुङसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने भएको छ।

आन्दोलनको पहिलो दिन मानवस्रोत विभागमा रहेका कार्कीलाई खापुङले २४ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा खटाएका थिए। 

आईजीपी कार्कीको बयान यसपछि हुने जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी शर्माले जानकारी दिए। उनका अनुसार त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइनेछ। 

पूर्वगृहमन्त्री लेखकले पनि आफूलाई आयोगले अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन्।

बुधबार बेलुका नेपालखबरसँग कुरा गर्दै लेखकले भने, ‘अहिलेसम्म मलाई आयोगले मौखिक वा लिखित रूपमा बोलाएको छैन।’

प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने अडान लिइरहेका छन्। तर लेखकले यसअघि नै बयानका लागि तयारी गरिसकेको उनी निकट स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad