समाज


जसले नेपाली संगीतको गोरेटो खनेकी थिइन्

जसले नेपाली संगीतको गोरेटो खनेकी थिइन्

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १०:३४,

नेपालमा रेडियोकी प्रथम गायिका रानुदेवी अधिकारीको बिहीबार राति निधन भयो। प्रजातान्त्रिक आन्दोलनमा पनि योगदान दिएकी उनले ८६ वर्षको उमेरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अन्तिम सास फेरिन्।

रानुदेवीले नेपाली संगीतको गोरेटो कोरेको कवि तथा गीतकार दिनेश अधिकारी बताउँछन्।

‘कुनैपनि ठाउँमा पहिलो चोटी टेक्दा बाटो हुँदैन,’ उनले भने, ‘उहाँले पहिलो चोटी टेकेर बनाएको गोरेटोलाई पछ्याउँदै आज नेपाली संगीत मूलबाटो भएको छ।’

२००७ सालमा तारणीप्रसाद कोइरालाले विराटनगरको जुटमिलमा नेपाल प्रजातन्त्रिक रेडियो स्थापना गरेका थिए। सोही रेडियोमा प्रजातान्त्रिक आन्दोलनमा जनतालाई जागरुक बनाउन रानुदेवीले पहिलो पटक गीत गाएकी थिइन्। प्रजातन्त्र स्थापनापछि काठमाडौँ आएर उनले केही गीत रेकर्ड गराएकी थिइन्।

सन् १९३६ मा वीरगञ्जमा जन्मिएकी रानुदेवीले माध्यामिक तहसम्मको अध्ययन बनारसमा गरेकी थिइन्। रानुदेवी ५ जना दिदीबहिनी ३ जना दाजु भाइमध्ये साइँली छोरी थिइन्। उनकी माइली दिदी नोना कोइरालाको बिहे विश्वेश्वरप्रसाद कोइरालाका भाइ केशवप्रसाद कोइरालासँग भएको थियो।

२००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग रानुदेवीको बिहे भयो। क्रान्तिमा होमिएका रानुका जेठाजु युवराजप्रसाद अधिकारी उनको बिहेमा जेलबाट छुटेका थिए।

दुईवर्ष अघि रानुदेवीले एक अन्तर्वार्तामा आफूले गाएको पहिलो गीत ‘नेपाली... अघि बढ् हातमा क्रान्ति झण्डा लिई, नेपाली...’ भएको बताएकी थिइन्। यो क्रान्तिको गीत थियो। ठ्याक्कै थाहा नभएपनि उक्त गीत तारणीप्रसाद कोइरालाले लेखेजस्तो लाग्ने उनले बताएकी थिइन्।

प्रजातन्त्रिक रेडियोको एक कोठामा गीत गाउँदाको झिसमिसे अनुभव भने उनमा बाँकी थियो।

‘एउटा कोठामा ट्रान्समिटर हुन्थ्यो। त्यहाँ ‘लाइभ’ गाइन्थ्यो। सँगै बादकहरुले बाजा बजाउँथे,’ उनले भनेकी थिइन्।

उनले पछि ‘मेरो मुटुको माझमा कसको तस्बिर’, ‘चरी भुर्र उडी घरमा मेरो जाऊ’, ‘तिमी दूर देशका परदेशी’, ‘जुनेली रात हजुर गम्किन्छ बात हजुर’, ‘जागे नेपाली उठे नेपाली’, ‘फागुको शीतल बतास’लगायतका गीत रेकर्ड गराइन्।

रानुको सानैदेखि गीत गुनगुनाउने बानीबारे तारणी जानकार थिए। उनैले रानुदेवीसँग क्रान्तिका गीत गाइदिन अनुरोध गरेका थिए। परिवारले समेत मञ्जुरी दिएपछि रेडियोकी पहिलो गायिका बनेकी थिइन् उनी।

‘त्यो समयमा बाहिरबाट ल्याइएका गायकहरुले दरबारभित्र मात्रै गाउने चलन थियो,’ गीतकार अधिकारी भन्छन्, ‘तर, आफ्नो पहलमा सामान्य जीवनका मान्छेले गीत गाउने कुरा स्वभाविक थिएन। त्यो बेलामा उहाँले जुन आँट गर्नुभयो, त्यसैले अरु धेरै कलाकारलाई जन्म दियो। त्यो आँटलाई सम्मान, सलाम गर्नुपर्छ।’

दुई दशक अध्यापन गरेकी रानुदेवीले इतिहासमा स्नातकोत्तर समेत गरेकी थिइन्। उनी नेपाल महिला संघ मोरङकी अध्यक्ष समेत बनेकी थिइन्। रानुदेवीका एक छोरा र दुई छोरी छन्। एक छोरा र एक छोरी अमेरिकामा छन्। पछिल्लो समय काठमाडौँमा बस्दै आएकी उनको साथमा कान्छी छोरी थिइन्।

‘आज हामी जहाँ छौं, उहाँका कारण यहाँसम्म आइपुगेका हौं,’ गीतकार अधिकारीले थपे, ‘उहाँको निधनसँगै आज इतिहासको एउटा पाटो फेरियो। हामी उहाँलाई धेरैकुरा सोध्ने गथ्र्यौँ। जिउँदो इतिहास हुनुहुन्थ्यो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad