समाज


कोरोना संक्रमित २ भारतीयसँगै काम गरेका बर्दियाका बाह्रै नेपाली सुरक्षित, कसरी सम्भव भयाे?

कोरोना संक्रमित २ भारतीयसँगै काम गरेका बर्दियाका बाह्रै नेपाली सुरक्षित, कसरी सम्भव भयाे?

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १०:३५,

भारत फर्किएपछि कोरोना संक्रमित देखिएका दुई भारतीयसँग त्यसअघि बर्दियास्थित एक क्रसर उद्योगमा काम गरेका सबै नेपाली सुरक्षित पाइएका छन्।

बर्दियाको कोठियाघाटस्थित क्रसर उद्योगमा ती भारतीयसँग काम गरेका ११ सहित उनीहरूसँग सम्पर्क गरेका अर्का व्यक्तिसमेत गरेर १२ जनाकै स्वाब पीसीआर परीक्षण गर्दा सबैको रिपाेर्ट नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएका हुन्।  

‘हामीले ती २ भारतीयसँग क्रसर उद्योगमा काम गरेका ११ जना र उनीहरूसँग आउजाउ गरेका अर्का १ व्यक्तिसमेत गरी १२ जनाको पटकपटक गरी पीसीआर परीक्षण गरायौं,’ शुक्रबार दिउँसो नेपालखबरलाई टेलिफाेनमार्फत जानकारी दिँदै बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘हिजोसम्ममा सबैको रिपोर्ट आयो, नेगेटिभ आयो, सबै सुरक्षित रहेछन्।’

उल्लिखित क्रसर उद्योगमा काम गरेका दुई भारतीय मजदुर आफ्नो देश भारत पुगेपछि कोरोना संक्रमण पुष्टि भएका थिए। त्यसको जानकारी भारतीय प्रहरीले नेपाली पक्षलाई पत्र पठाएर दिएपछि ती भारतीय नेपाल रहँदा उनीहरूसँग काम गरेका सबै नेपालीलाई क्वारेन्टिनमा राखेर उच्च सतर्कता अपनाइएको थियो।

प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार क्रसर उद्याेगमा नेपालीसँग काम गर्ने ५ भारतीय सीमानाका बन्द हुँदाहुँदै पनि भागेर यही वैशाख ५ गते भारतको उत्तर प्रदेशस्थित बहराइच फर्किएका थिए। त्यहाँको अस्पतालमा परीक्षण गर्दा तीमध्ये २ जनामा काेराेना पुष्टि भएकाे हाे।  

‘तर ती भारतीयलाई यहाँ नेपालमा रहँदा कोरोना संक्रमण भएको नभई उतै (भारत) गइसकेपछि संक्रमण भएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘हाम्रो रिपोर्टले त्यस्तै देखायो।’

१४ हजार मानिस भित्रिए, ३५ सय क्वारेन्टिनमा
लकडाउनयता मात्र भारतलगायत विभिन्न देशबाट १४ हजार मानिस बर्दियामा भित्रिएका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेका अनुसार तीमध्ये अहिले ३५ सय मानिस क्वारेन्टिनमा छन्। ‘अहिलेसम्म हामीले साढे ६ सय जनाको आरडीटी चेक गराइसक्यौं, सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘पीसीआर परीक्षण गरिएका १४८ जनामध्ये १२९ जनाको रिपोर्ट आइसकेको छ, जुन सबै नेगेटिभ छन्।’

अब १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। साथै आज मात्रै थप ११ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि बाँकेको नेपालगन्जस्थित प्रयोगशालामा पठाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad