विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले हालैको जेनजी आन्दोलनले देशमा गहिरिँदो ‘स्टेट अफ क्याप्चर’ अर्थात् 'राज्य संयन्त्र' शक्तिशाली समूहद्वारा नियन्त्रण भइरहेको अवस्थालाई अझ प्रस्ट पारेको बताएका छन्।
वरिष्ठ पत्रकार तथा संसदीय मामिलाका जानकार हरीबहादुर थापाले सेन्ट जेभियर्स कलेजमा आयोजित मिडिया टक सिरिजमा बोल्दै थापाले पछिल्ला सर्वेक्षणले पाँचमध्ये चार जनाले भ्रष्टाचारलाई विकासको ठूला अवरोधमध्ये एक मानेको बताए।
उनले भने, 'भ्रष्टाचारसँग नेपालले लडिरहेको संघर्ष बुझ्न यसको ऐतिहासिक जरा पहिचान गर्नुपर्छ, जुन विषय आजको पुस्ताले अझ ठोस रूपमा बुझ्नुपर्ने छ।'
भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय जेनजी प्रतिनिधिसमेत रहेकी तनुजा पाण्डेले राजनीतिक संस्कार नागरिक संस्कारसँग गाँसिएको बताउँदै नेताहरूलाई शक्तिमा रहेको भन्दै पूज्य ठान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिइन्।
जेभियर्सका प्रिन्सिपल फादर डा. अगस्टिन थोमस, एसजेले सामाजिक मिडिया, विचारधारागत भ्रम र स्वार्थी समूहहरूको आवाज बढ्दै जाँदा शैक्षिक संस्थाहरूले तथ्यमा आधारित स्पष्ट दृष्टिकोण दिनुपर्ने बताए।
'भ्रष्टाचारले समाजलाई कसरी असर गर्छ र जवाफदेहिताले सार्वजनिक जीवन कसरी सुधार्छ भन्ने कुरा विद्यार्थीलाई बुझाउन शैक्षिक भूमिका महत्वपूर्ण छ,' उनले भने।
पत्रकारिता संकायद्वारा आयोजित यो श्रृंखलाको छलफल भ्रष्टाचारले आम नागरिकका अवसर सीमित बनाइरहेको र सुशासन कमजोर पारिरहेको विषय केन्द्रित थियो। विभिन्न अध्ययन अनुसार ८४ प्रतिशत नेपालीले भ्रष्टाचारलाई प्रमुख समस्याका रूपमा जिकिर गरेका छन्, र जेनजी पुस्ताले यसको असर सबैभन्दा बढी महसुस गरिरहेको छ।
मिडियाटकका संयोजक तथा पत्रकारिता संकायका प्रमुख चुनबहादुर गुरुङले शक्ति र धन भएका मानिसहरूकै हातमा सबै निर्णय रहने, चाहे उनीहरूले त्यो धन जुनसुकै तरिकाले कमाएका हुन्, उनीहरूप्रति समाजको सम्मान बढ्ने हुँदा सुशासन र जवाफदेहिताको संस्कार कमजोर बनाइरहेको बताए।
उनले शैक्षिक संस्थाहरूले जिम्मेवार समाज निर्माणमा विद्यार्थीलाई मार्गदर्शन गर्नुपर्नेमा जोड दिए। सन् २०१९ देखि मिडियाटकले विभिन्न राष्ट्रिय मुद्दामा खुला संवादको संस्कृतिअगाडि बढाउँदै आएको पनि उनले स्मरण गराए।
यस कार्यक्रमको संयोजक विद्यार्थी गरिमा श्रेष्ठ हुन् भने विद्यार्थी सल्लाहकार राखी विन्द हुन्। त्यस्तै मोडियटर सेलिना बल र रसोदिता अधिकारी थिए। कार्यक्रम खुसी जोसी र महर्षी ढुंगेलले सञ्चालन गरे।
Shares

प्रतिक्रिया