काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ।
यसैबीच आज (शनिबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।
हिजो शुक्रबार पनि उक्त समयमा उपत्यकाको न्यूनतम तापक्रम ठ्याक्कै त्यति नै थियो। तर पछि बिहान ८:४५ बजे घटेर ६.५ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।
मूलत: चिसो बढिरहेको भए पनि तापक्रम भने थोरै तलमाथि भइरहन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।
Shares

प्रतिक्रिया