ad ad

समाज


नाका खुला भएपछि नेपाल फर्किने नेपालीको घुइँचो

नाका खुला भएपछि नेपाल फर्किने नेपालीको घुइँचो

गोकुल जोशी
बैशाख १८, २०७७ बिहिबार ४:४,

नेपाल-भारत सीमामा एक महिनादेखि अलपत्र नेपालीले आज (बिहीबार) स्वदेश प्रवेशको अनुमति पाएका छन्।

बिहीबार बिहानैदेखि दार्चुलाका दुई र बैतडीको एक नाका खोलेर ती नेपालीलाई धमाधम स्वदेश प्रवेश गराउन थालिएको हो।

काेराेना महामारीका कारण सीमा नाका बन्द गरिँदा  २ हजारभन्दा बढी नेपाली एक महिनादेखि भारतीय भूमिका क्वारेन्टिनमा बिजोग गरेर बसिरहेका थिए।

दार्चुला पारि धार्चुलामा क्वारेन्टिनमा बसेका हजारभन्दा बढी नेपालीलाई त्यहाँका दुई नाकाबाट प्रवेश अनुमति दिइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए।

‘भारतीय क्वारेन्टिनमा बसेकाहरूलाई नाका प्रवेश गराउने काम बिहानै सुरु गरिएको छ, भारतीय पक्षले पनि स्वास्थ्य परीक्षण गरेर पठाउँदै छ, हामी पनि यहाँ स्वास्थ्य परीक्षण गर्दै छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले नेपालखबरसँग भने।

भारतीय भूमिमा अलपत्र परेका नेपालीको उद्धारका लागि दार्चुलाको दत्तु-बालुवाकोट र दार्चुला-धार्चुला, बैतडीको झुलाघाट नाका खुला गरिएका हुन्।

भारतीय क्वारेन्टिनबाट फर्किएकाहरूलाई स्वास्थ्य जाँचपछि सम्बन्धित स्थानीय तह पठाइने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। सम्बन्धित स्थानीय तहले नै आफ्ना नागरिक लान गाडीकाे व्यवस्था गरेकाे उनले जानकारी दिए।

आफ्नो गाउँ फर्काएपछि पनि उनीहरूलाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्।

‘नाकामा स्वास्थ्य जाँच गरेर नेपालीलाई स्वदेश प्रवेश गराउने क्रम जारी छ, कोही कोरोनाको शंकास्पद बिरामी भेटिए अस्पताल लगिनेछ भने अन्यलाई सम्बन्धित स्थानीय तहले उद्धार गरेर लानेछन्,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले नेपालखबरसँग भने।

भारतको पिथौरागढ जिल्लाका १५ स्थानमा रहेका क्वारेन्टिनमा १५ सयभन्दा बढी नेपाली छन्।

कञ्चनपुर र कैलाली नाकामा राेकिएकाले पाएनन् प्रवेश अनुमति
कञ्चनपुर र कैलालीका भारतीय सीमामा अलपत्र नेपालीले भने अझै स्वदेश अनुमतिको प्रवेश पाएका छैनन्।

कञ्चनपुरका बनबासा, टनकपुरमा २ सय ५१ र कैलालीमा १ सय ३५ नेपाली १ महिनादेखि क्वारेन्टिनमा छन्। तर उनीहरूको अझै उद्धार नसकेको हो।

ती नेपालीको उद्धारका लागि स्थानीय प्रशासन गृह मन्त्रालयको आदेशको पर्खाइमा छ।

‘सीमामा रोकिएकाहरूको उद्धारका लागि हामी गृह मन्त्रालयको आदेशको पर्खाइमा छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले नेपालखबरसँग भने। भने ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .