ad ad

समाज


युवतीको ‘सुसाइड नोट’ मा गर्भको डिएनए परीक्षण गर्न माग, प्रहरी जवानविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

युवतीको ‘सुसाइड नोट’ मा गर्भको डिएनए परीक्षण गर्न माग, प्रहरी जवानविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

खेमराज गौतम
बैशाख १८, २०७७ बिहिबार ४:५,

सलको पासो लगाएर गएको मंगलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ की ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरी जवान विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्।

बागलुङ नगरपालिका-२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरी जवान राकेश दवाडीको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन्। बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन्।

प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङलाई सम्बोधन गरिएको सुसाइड नोट फेला परेको थियो। उनका आफन्तले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका हुन्।

मृतकको नामबाट लेखिएको सुसाइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ।

गैरदलित युवासँग विवाह गरेकी उनले दवाडीकै कारणले श्रीमानसँग सम्बन्धविच्छेद भएको सुसाइड नोटमा उल्लेख गरेकी छन्।

सुसाइट नोटमा श्रीमानसँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावान दबाडीले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरिएको छ।

उनले सुसाइड नोटमा गर्भको डिएनए परीक्षण गरी दोषीलाई कारवाहीको माग गरेकी छन्।

छोरीको सुसाइड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका हुन्।

प्रहरी जवानकै विरुद्धमा दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

‘शङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको छ,’ भट्टले भने, ‘मृतकका परिवारले सुसाइड नोटसहितको उजुरी लिएर आएपछि दुरुत्साहन मुद्दा दर्ता गरेर गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छौँ।’

अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भए पनि उम्कन नदिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .