अफ्रिकाको इथियोपियामा फुटेको ज्वालामुखीको खरानी नेपालसम्म आइपुगेको छ।
झन्डै १२ हजार वर्षपछि पहिलोपटक गत आइतबार इथियोपियामा ज्वालामुखी विस्फोट भएको हो। त्यस क्रममा खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल उडेको थियो।

त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो।
तर त्यसले नेपालको वातावरणमा कुनै असर गर्ने अवस्था नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार बिहान नेपालखबरले राखेको जिज्ञासामा महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले भने, ‘खास यो हाम्रो क्षेत्रको विषय होइन, वातावरणतर्फको हो, तर पनि ज्वालामुखीका खरानी र धुवाँ नेपालको माथिल्लो वायुमण्डलमा सीमित रहेकाले यहाँ कुनै प्रदूषण गराउने सम्भावना छैन।’
उनले थपे, ‘हामीले यस विषयमा हवाई उडानमा समस्या देखियो भने मात्र सूचना जारी गर्ने हो, त्यो पनि देखिएको छैन।’
स्वतन्त्र मौसम विज्ञ विनोद पोखरेलले पनि त्यो ज्वालामुखीको बादल नेपालको वायुमण्डलमा प्रवेश गरे पनि समुद्री सतहबाट निकै माथि रहेकाले प्रदूषण निम्त्याउने सम्भावना नदेखिएको बताएका छन्।
'इथियोपियामा निक्लेको ज्वालामुखीको खरानी र धुवाँ भारत र नेपालसम्म आए पनि यो समुद्री सतहभन्दा १०-१५ किलोमिटर माथि रहने हुँदा वायु प्रदूषण बढ्ने सम्भावना देखिँदैन', पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
भारतमा भने उक्त ज्वालमुखीका खरानी र धुवाँयुक्त बादलले सोमबार र मंगलबार ठूलो संख्यामा उडान प्रभावित भएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ज्वालामुखीको बादलका कारण धेरैवटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान कुनै ढिला भएका थिए भने कुनै रद्द गर्नुपरेको थियो।
बीबीसीका अनुसार इथियोपियाको उत्तरपूर्वी भागमा फुटेको ज्वालामुखीपछि उडेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ भने यसको गति प्रतिघण्टा १००–१२० किमि छ। जसमा खरानी, सल्फर डाइअक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन्।
हजारौँ वर्षदेखि सुषुप्त रहेको उक्त ज्वालामुखी आइतबार बिहान एक्कासि सक्रिय भएको थियो।
बीबीसीका जलवायु विशेषज्ञ नवीनसिंह खड्काले खरानीयुक्त यो बादल हिमालमा ठोकिएपछि यसमा रहेका धुलो, खरानी र विभिन्न खनिज पदार्थ हिमाली भेगमा जम्मा हुन सक्ने अनुमान गरेका छन्।
स्काइमेट वेदरका अध्यक्ष जीपी शर्माले भनेका छन्, 'यो विस्फोट अप्रत्याशित भएकाले खरानीको प्रदूषण कति छ भन्ने मापन गर्न सम्भव छैन।'
Shares

प्रतिक्रिया