मनराम–एसकाज पत्रकारिता २०८२ पुरस्कार सङ्खुवासभाका वरिष्ठ पत्रकार तथा गोरखापत्र संस्थानका पूर्वअध्यक्ष गोविन्द पोखरेललाई दिने निर्णय भएको छ। मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।
पोखरेल सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार घर भई हाल काठमाडौँ बस्दै आएका छन्। रु ५० हजार राशिको पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई प्रदान गरिने निर्णय भएको सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसोसिएशनका अध्यक्ष शङ्कर खनालले बताए। पुरस्कार सङ्खुवासभासँग जोडिएर पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिँदै आएको छ। पोखरेलले गोरखापत्र संस्थानको अध्यक्ष र नेपाल टेलिभिजनको सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्।
खाँदबारी–१ का समाजसेवी स्व रामबहादुर श्रेष्ठको समामाजिक विकास प्रतिको दृष्टिकोण र उनको समाजप्रतिको समर्पणको सम्झना स्वरुप प्रत्येक वर्ष सङ्खुवासभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरिँदै आएको एसोसिएसनका अध्यक्ष खनालले बताए।
लाइन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक अध्यक्षसमेत रहिसकेका रामबहादुर र श्रीमती मनमाया श्रेष्ठको नाममा स्थापना गरिएको मनराम–एसकाज पत्रकारिता पुरस्कार सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसोसिएसनले काठमाडौँमा एक कार्यक्रम गरी प्रदान गर्ने निर्णय गरेको छ।
यसअघि यो पुरस्कारबाट सङ्खुवासभाका पत्रकार गङ्गा बिष्ट, इन्द्र गिरी, दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, नविन गुरुङ, प्रेमप्रसाद निरौला, मत्रिकाप्रसाद तिम्सिना, भोला गौली र ज्ञान उदाश सम्मानित भइसकेका छन्। रासस
Shares

प्रतिक्रिया