समाज


अब फरक क्षमता भएका व्यक्ति पनि ट्रेकिङ गाइड

अब फरक क्षमता भएका व्यक्ति पनि ट्रेकिङ गाइड

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १२:५४, काठमाडौँ

नेपालमा पर्यटन प्रवर्द्धनका लागि सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्न थालिएको छ। फरक क्षमता भएका व्यक्तिहरूलाई नेपालमा भित्र्याउनको लागि नेपाल पर्यटन बोर्डले सोहीअनुसारको दक्ष जनशक्ति तयार पार्न लागेको हो। 

महिला गाइड तथा ह्वीलचियर पदमार्ग निर्माण लगायतको कार्य गरेको बोर्डले पछिल्लो समय बहिरा गाइड उत्पादन गर्न तालिम सञ्चालन गरेको छ। बोर्डको सहकार्यमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) ले नेपालमा पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो। 

नाथमले दिगो पर्यटन परियोजनाअन्तर्गत सस्टेनेबल टुरिजम डेभलपमेण्ट प्रोजेक्ट (एसटीपी), राष्ट्रिय बहिरा महासंघ नेपाल र बोर्डको सहकार्यमा कात्तिक १८ गतेबाट तालिम सञ्चालन गरिरहेको छ। तालिममा देशका सात वटै प्रदेशबाट २५ जना सहभागी छन्। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विश्वमा करिव ४० करोडभन्दा बढी पर्यटकहरूको श्रवण शक्ति नरहेको तथ्यांक सुनाउँछन्। ती पर्यटकहरूलाई नेपालमा भित्र्याउनको लागि भाषा, पहुँच र सहयोगसम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्तिहरूलाई नै तालिम दिइएको उनको भनाइ छ। 

नेपाललाई सहज पर्यटक गन्तव्यका रुपमा स्थापित गर्न यस किसिमका विशेष गाइड तयार गर्नुपर्ने आवश्यकता भएको उनले बताए। उनले फरक क्षमता भएका पर्यटकका लागि विशिष्ट सेवा दिने गाइड नहुँदा उनीहरूमा नेपाल आउँदा आत्मविश्वास कम देखिने गरेको र यो तालिमले त्यसमा ठूलो सहयोग पुर्‍याउने उल्लेख गरे। 

‘संसारभरी करिव ४ सय मिलियन माथिका भिजिटर्सहरू यो क्याटागोरीका हुनुहुन्छ। जसलाई विभिन्न गन्तव्यहरूमा जाँदाखेरी कठिनाई हुने, भाषा नबुझ्ने, गन्तव्यको स्वाद पनि लिन नसक्ने हुँदाखेरी यो रिलेटेड सेग्मेन्टमा पनि हामीले हाम्रो जनशक्ति तयार गर्‍यौँ भने एउटा नयाँ सेग्मेन्टको भिजिटर्स पनि ल्याउन सकिने र नेपाल चाँही सबैका लागि एक्सेसिवल टुरिजम डेस्टिनेसन हो भन्ने सन्देश पनि प्रचारित हुने हुँँदा हामीले यो कार्यक्रम सुरु गरेका हौँ,' उनले भने, 'हामीलाई आशा छ, उनीहरू नेपालमा आउँदाखेरी चाहीँ हामीलाई छुट्टै सेवा दिने गाईडहरू छैनन्, त्यसैले हामी नेपाल नजाने हो की भन्ने जुन भिजिटर्समा कन्फिडेन्स हुँदैन नी, त्यो कन्फिडेन्स बढाउनको लागि पनि यो कार्यक्रमले सहयोगी भूमिका खेल्छ।’  

सीईओ जोशीले तालिमप्राप्त बहिरा गाइडहरूको रोजगारीका लागि ट्राभल एजेन्ट, टुर ट्राभल्सहरूसँग समन्वय गर्ने जानकारी दिए। साथै विमानस्थल, विभिन्न देशका राजदुतावास, सूचना केन्द्रहरूमा उनीहरूको सम्पर्क नम्बरसहित जानकारी उपलब्ध गराइने बताए। उनले हाल एकखालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन बढेकोले समावशेवी पर्यटनलाई पनि प्रवद्र्धन गर्न यो तालिमको आयोजना गरेको जानकारी दिए।

बोर्डले ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरूको लागि हाल केही ट्रेकिङ ट्रेलहरू निर्माण गरेर नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित गरिएको उनको भनाइ छ। बोर्डको मुख्य उद्देश्य नै सबै प्रकारका पर्यटकहरू नेपाल भित्र्याउनु र फरक क्षमता भएका व्यक्तिहरूले पनि पर्यटनसँग जोडिएर रोजगार पाउन भन्ने रहको जोशी बताउँछन्। 

‘अहिले जहाँसुकै एकखालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन छ। अलि अगाडीसम्म हामीले हेर्‍यौँ भने ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरूको लागि हामीकहाँ समस्या थियो, अहिले पनि छ। तर अझ पहिला चाहीँ अझ बढी थियो। हामीले केही ट्रेकिङ ट्रेलहरू चाहीँ एक्सेसवल ट्रेल निर्माण गर्‍यौँ, यसले नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित भयो। साथै कतिपय होटलहरूले उहाँलाई छुट्टै रुम, ट्वाईलेट, वाथरुमको आवश्यकता हुन्छ, त्यो पनि बनाउन थाल्नुभएको छ,' उनले भने, 'कतिपय हाम्रा सम्पदा क्षेत्रहरूमा, गन्तव्यहरूमा ह्वीलचियर लिएर हिँड्न मिल्ने थिएन, अहिले त्यो चाहीँ बढ्दै गएको छ। थुप्रै नगरपालिका, पालिकाहरूले पनि पूर्वाधार निर्माण गर्दाखेरि यो पक्षलाई ध्यान दिन थाल्नुभएको छ। यसमा अब मुख्यतः हाम्रो आइडिया एउटा नयाँ सेग्मेन्ट अफ टुरिजम हामीले नेपालमा ल्याउन सकौँ र फरक क्षमता भएका नेपालीहरूले पनि पर्यटनसँग जोडिएर केही लाभ लिन सक्नुहोस् भन्ने विचारले यो कार्यक्रम शुरु गरेका हौँ।’  

उनले यस्ता तालिमहरू आवश्यकताका आधारमा आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताए। महिलाहरूको लागि पनि छुट्टै महिला गाइड नै उत्पादन गरिएको जानकारी दिँदै उनले बहिराहरूको लागि पनि मागको आधारमा जनशक्ति तयार गर्ने बताए। साथै तालिम लिएकाहरूलाई आगामी दिनमा एड्भान्स लेबल पनि दिने जानकारी दिए।

नाथमका प्रिन्सिपल अजयकुमार ढकालले नेपालकै पर्यटन इतिहासमा बहिरा समुदायका लागि ट्रेकिङ गाइड तालिम पहिलोपटक गरिएको बताए। देशभरिबाट आएका ५०–६० बढी आवेदकमध्ये २५ जना छनोट गरी तालिम सञ्चालन भइरहेको उनको भनाइ छ। राष्ट्रिय बहिरा महासंघ, नेपालले छनौट गरेर पठाएको उनको भनाइ छ। देश विदेशका धेरै बहिरा पर्यटकहरू नेपाल घुम्न आउने गरेको तथ्यलाई ध्यानमा राखेर यो तालिम सुरु गरिएको हो। 

‘उहाँहरूको एउटा आफ्नै संसार छ। उहाँहरूको एउटा आफ्नै गतिविधि र नेटवर्किङमा हुने रहेछ। त्यो कुरा पनि हामीले थाहा पायौं। हामी एकदम उत्साहित भयौं र यो चुनौतिका बावजुद सहकार्य गरेर यो तालिम सञ्चालन गरेका हौँ,' उनले भने, 'त्यसमध्ये केही बहिरा साथीहरूले आफ्नै हिसाबले पनि एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्पतिर ट्रेकिङ गरिराख्नुभएको रहेछ। त्यसले हामीलाई थप ऊर्जा दियो। हामी झनै उत्साहित भयौं र गरौं भन्ने हिसाबले एउटा एमओयू गरेर, त्रिपक्षीय एमओयू गरेर हामीले यो तालिम सञ्चालन गर्‍यौँ। र यो तालिममा २५ जना सहभागी छन्।’ 

उनले सहभागीहरू उत्साहित भएर तालिम लिइरहेको जानकारी दिए। नाथमबाट तालिम लिएर गएपछि तत्काल रोजगारीको लागि योग्य हुने पनि उनले बताए। विदेशी पाहुनालाई नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम उनहरूले गर्ने उनको विश्वास छ। 
 
‘सहभागीहरूले अहिलेसम्म राम्रो बुझेको, पठनपाठनमा कुनै बाधा नभएको, सहज तरिकाले गएको भनेर उहाँहरू पनि उत्साहित हुनुहुन्छ। यो चाहीँ पाँच हप्ते तालिम हो। लगभग हामीले आधाको छेउछाउमा आइपुगेका छौं। हामी प्रयोगात्मकको लागि काठमाडौं भ्यालीको छेउछाउमा एक अथवा दुई रातको स्टे गराएर उहाँहरूलाई क्याम्पीङ, रक क्लाइम्बिङ लगायतका कार्यहरू पनि सिकाउँछौं। लाइसेन्स प्राप्त गरिसक्नु भएपछि उहाँहरूले विदेशबाट विशेष गरी बहिरा कम्युनिटीकै गेस्टहरू नेपालमा आउँदा  नेपाललाई चिनाउने, नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम गर्नुहुनेछ,' उनले भने, 'उहाँहरूले यो क्षेत्रमा एउटा चाख देखाउनुभएको छ। यो एउटा उदाहरणीय हो। हामीले यस्ता किसिमका तालिमलाई विशेष जोड दिने भन्ने एउटा सोच बनाएका छौं। यो तालिम जहाँसम्म लाग्छ एउटा हाम्रो नेपालकै पर्यटन क्षेत्रको इतिहासमा एउटा राम्रो, नौलो र एउटा प्रभावकारी तालिम हुनेछ।’ 

३० वर्षदेखि नाथममा सेवारत पर्यटन तालिम संयोजक रतनबहादुर साउदले पाँच हप्ते तालिममा चार हप्ता सैद्धान्तिक र एक हप्ता व्यावहारिक कक्षाहरू राखिएको जानकारी दिए। उनका अनुसार सैद्धान्तिक कक्षामा ट्रेकिङ, फर्स्टएड, भूगोल, वातावरण, संस्कृति–धर्म, कोड अफ कन्डक्ट, गाइडिङ टेक्निकलगायत १७–१८ विषय समावेश छन्। व्यावहारिक कक्षामा क्याम्प व्यवस्थापन, हाइकिङ, क्याम्पिंग, रक क्लाइम्बिङ, पर्यावरण संरक्षण तथा आतिथ्य व्यवस्थापन सिकाइने उनको भनाइ छ। 

‘ट्रेकिङ, फर्स्टएड, फ्लोरा फाउना, इन्भाइरोमेन्ट, जियोग्राफी, कल्चर, रिलिजन, अनि कोड अफ कन्डक्ट, गाइडिङ टेक्निक, टुरिजमदेखि केही कानूनका कुराहरू थपेर करिव–करिव १७–१८ वटा विषयहरू चाहीँ सैद्धान्तिक रूपमा पढाई हुन्छ। त्यसैगरी व्यावहारिक रूपमा चाहिँ क्याम्प व्यवस्थापन, लिडरसिप, हाइकिङ, ट्रेकिङ र क्लाइम्बिङ सम्बन्धी पढाइ हुन्छ,' उनले भने, 'हामीले यसमा पर्यावरणको विषयमा कसरी जगेर्ना गर्ने र सरसफाइको कसरी व्यवस्थापन गर्ने, भोलि फिल्डमा जाँदाखेरि टुरिस्टहरू जाँदाखेरि खानपिनदेखि लिएर हरेक चिज, हस्पिटालिटीका कुराहरूलाई हामीले व्यावहारिक कक्षाका रूपमा चाहीँ हामीले सिकाउने गर्दछौँ। अब यो पाँच हप्ताको कोर्सलाई यसरी हामीले ४ प्लस १ हप्ता गरेर ५ हप्ताको व्यावहारिक कक्षाहरू गर्छौं।’ 

उनले तालिमको क्रममा मूल्यांकन समेत गरिने जानकारी दिनुभयो। मूल्यांकन लिखित परिक्षा, अनुशासन, उहाँहरूको रुचीको आधारमा गरिने बताए। १०० पूर्णाङ्कमा  मूल्यांकन गरेर ग्रेडिङ ए, बी, सी गरेर तीन वटा ग्रेडमा सर्टिफिकेट दिने उनको भनाइ छ। 

‘उहाँहरूलाई हामीले लिखित परीक्षा र उहाँहरूको क्लासमा निरन्तरता कस्तो छ ? समयको कति पालना गरेका छन् ? उनीहरूको पर्सनालिटीको कुराहरू लगायत सम्पूर्णलाई आधार बनाएर मूल्यांकन गर्छौं। साथसाथै व्यावहारिक कक्षामा पनि उहाँहरूको इन्ट्रेस्ट के छ? उहाँहरू कत्तिको जागरुक हुनुहुन्छ, कत्तिको त्यो कुरामा चाहीँ उहाँहरूले ध्यान दिनुभएको छ,' उनले भने, 'कति व्यावहारिक कुरामा चाहीँ उहाँहरूले बुझ्नुभयो ? भन्ने कुराहरूबाट पनि उहाँहरूको मूल्यांकन हुन्छ। हामीले १०० नम्बरको मूल्यांकन गरेर ग्रेडिङ ए, बी, सी गरेर तीन वटा ग्रेडमा चाहिँ हामीले उहाँहरूलाई सर्टिफिकेट दिन्छौं। यो सर्टिफिकेट नाथमले दिइसकेपछि नै उहाँहरूलाई यो पर्यटन कार्यालयबाट उहाँहरूलाई लाइसेन्सको व्यवस्था गर्ने व्यवस्था रहेको छ। त्यो लाइसेन्स प्राप्त गरिसकेपछि उहाँहरू नेपालको कुनै पनि क्षेत्रमा गएर एउटा ट्रेकिङ गाइडको रूपमा उहाँहरूले गाइड गर्न सक्नुहुनेछ।’ 

उनले प्रत्येक कक्षामा सांकेतिक भाषाको लागि दोभाषेको व्यवस्था गरिएको जानकारी दिए। प्रशिक्षकहरूले भिजुअल, लेखन सामग्री, चित्र तथा सांकेतिक भाषाको सहायताले तालिम दिइरहेको उनले बताए। प्रशिक्षकबाट प्रशिक्षण गराएको कुराहरू दोभाषेको माध्यामबाट प्रशिक्षार्थीसम्म पुर्‍याउने गरेको उनको भनाइ छ। तालिममा २० वर्षदेखि ५५ वर्षसम्मका ४ महिला र २१ पुरुष सहभागी रहेका छन्। नाथमले हालसम्म करिव २२ हजार ट्रेकिङ गाइड उत्पादन गरिसकेको छ। उनकाअनुसार पहिलोपटक बहिरा समुदायका २५ जना थपिँदैछन्, जुन पर्यटन क्षेत्रमा समावेशीकरणको नयाँ मोड हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad