राजनीति


सिमरामा जेनजी पिटेको आरोपमा दुई जना वडाध्यक्ष पक्राउ

सिमरामा जेनजी पिटेको आरोपमा दुई जना वडाध्यक्ष पक्राउ

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १२:४५, काठमाडौँ

बाराको सिमरामा बुधबार भएको जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपमा संलग्न दुई जना वडा अध्यक्ष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन्।  

उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए।  

जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले नेपालखबरलाई जानकारी दिए। दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।  

घटनामा संलग्नलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएका जेनजीहरू बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्। 

अवरुद्ध सडक खुलाउनेक्रममा प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो। बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।  

आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। 

उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad