समाज


म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव

म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव

सांकेतिक तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १५:२८, म्याग्दी

आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव गरिएको छ। 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले विसं २०७९ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकै मतदानस्थललाई निरन्तरता दिन प्रस्ताव गरिएको जानकारी दिए।

‘अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थलको अवस्थाका बारेमा स्थानीय तहहरूबाट कात्तिक २० गतेसम्म सिफारिस मागिएको थियो’, उनले भने, ‘स्थानीय तहको सिफारिस, सुरक्षा निकाय र सरोकार भएकाहरूको सुझावका आधारमा मतदानस्थल र केन्द्र प्रस्ताव गरिएको हो।’

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त प्रस्ताव गरेको हो। गत निर्वाचनमा यहाँ ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र थिए।

प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ स्थानीय तहमा ४५ वटा वडा छन्। म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए।
 
निर्वाचन आयोगले गत असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ। यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली सङ्कलन भइरहेको छ। असोज १० गतेदेखि यता ५८३ जनाले नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad