कारोबार


निजी क्षेत्रको गुनासोः आगजनीमा संलग्नमाथि कारबाही भएन, सुरक्षाको प्रत्याभूति गर्न पाएनौँ

निजी क्षेत्रको गुनासोः आगजनीमा संलग्नमाथि कारबाही भएन, सुरक्षाको प्रत्याभूति गर्न पाएनौँ

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १५:४९, काठमाडौँ

निजी क्षेत्रका अगुवाहरूले सुरक्षाको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन्।

उनीहरूले जेन–जी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताए। आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरूले तत्काल कारबाहीको माग समेत राखेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थीतिबाट अघि बढ्नुपरेको बताएका छन्।

राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत वर्षका सूचकहरू हेर्दा अर्थतन्त्र सकारात्मक देखिएपनि अहिले अत्यन्तै अप्ठ्यारो स्थीतिको सामना गर्नुपरिरहेको बताए। उनले आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तीवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताए। 

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘व्यक्तिवादी जुन तार्गेट भयो। सरकारी सम्पदाहरू र व्यवसायीहरूको व्यवसाय र घरघरमा गएर छानिछानि आक्रमण भएको छ। त्यसले गर्दा व्यवसायी हतोत्साहित भएका छन्। यो एकदमै विषम परिस्थीति हो। सरकारलाई हामीले स्पष्ट भनेका छौं, यसमा जोजो संलग्न छन् कारबाही गर्नुपर्छ। समयमै कारबाही होस्। यस्तो खालको गतिविधि भविष्यमा दोहोरिनु हुँदैन। किनभने भोली पनि आन्दोलन हुनसक्छ। विगतमा पनि यस्तो आन्दोलनमा निजी क्षेत्रमाथि तार्गेट भएको थियो। लिस्ट बनाइ बनाइ गरिएको आक्रमण गम्भीर कुरा छ। सरकारले भोलिका दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउनैपर्छ।’ 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताए। भ्रष्टाचार निवारण, परदर्शीता, नीतिगत स्पष्टता आफूहरूको समेत उठाउँदै आएको बताउँदै जेनजीहरू उठाउँदै आएका मागहरू पूरा हुनुपर्नेमा जोड दिए।

पाण्डेकाअनुसार नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरूले समेत त्यो सन्देश दिएको छ। जेन–जी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको बताए। 

अध्यक्ष पाण्डेले भने–‘विगतमा जस्तै आगामी दिनमा लगानी, अर्थतन्त्र, जेनजी आन्दोलनले व्यवसायमा पारेको प्रभाव, लगायतका विषयमा अध्ययन गरिरहेका छौं। हामी सार्वजनिक गर्नेछौं। हालको ४५  अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षमा १०० अर्ब डलरमा पुर्‍याउनुपर्छ र सकिन्छ भनेर सकल्प गरेको छ र यसको अध्ययन प्रतिवेदन पनि बाहिर ल्याउनेछौं।’

उनले जनयुद्ध भोगिसकेको अर्थतन्त्र र निजी क्षेत्रले जेन–जी आन्दोलनको समेत सामना गर्ने बताए। 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेन–जी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताए। उनले सरकारले तत्कालै सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताउँदै राष्ट्र बैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा जोड दिए। 

चेम्बर अध्यक्ष अग्रवालले भने, ‘लगानीको आकर्षण बढाउन सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ। हामीले प्रधानमन्त्री अर्थमन्त्रीलाई पनि भनिसकेका छौं। तत्कालै हामीलाई सुरक्षाको प्रत्याभूति चाहियो। विदेशीलाई मात्रै नभई स्वदेशी लगानीमा पनि इभेस्टमेन्ट प्रोटेक्सन पोलिसी अब सरकारले लिनुपर्‍यो। बिमा सहीत सबै त्यसमा गर्नुपर्‍यो। अहिले राजीतिक स्थिरता पनि जरुरी छ। राजनीतिक स्थायित्व हुन जरुरी छ। नीतिगत स्थायित्व पनि जरुरी छ।’ 

उनले सरकारले लिने नीतिगत कुराहरू छिनछिनमा परिवर्तन हुँदा निजी क्षेत्रलाई मार पर्ने गरेको बताए। प्रतिष्पर्धी कर नीति हुन जरुरी रहेको बताउँदै सरकारले यसमा ख्याल गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad