डाक्टर लोर्ना एम. ब्रीनको सुझबुझ र मिहिनेतले धेरैको जीवन मृत्युतर्फ धकेलिनबाट जोगियो। उनी सधैँ त्यस्ता बिरामीको उपचारमा खटिइन् जो मृत्युसँग संघर्ष गरिरहेका हुन्थे। उनलाई नजिकबाट चिन्ने साथीहरु भन्छन्, ‘लोर्ना सधैँ आफ्नो अप्ठ्यारोभन्दा उपचारलाई प्राथमिकतामा राख्थिन्।’
तर कोरोना संकटको यो घडिमा उनी आफैँले आफ्नो जीवन अन्त्य गरेकी छिन्।
अमेरिकाको कोरोना भाइरस (कोभिड—१९) केन्द्र न्युयोर्क सहरको अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै आएकी डा. लोर्नाले आत्महत्या गरेकी हुन्। अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी न्युयोर्ककै ख्यातीप्राप्त आरटी (इमर्जेन्सी रुम) डाक्टर थिइन्। पछिल्लो समय लोर्ना म्यानहटनस्थित प्रेस्वेटरियन अस्पतालमा कोरोना संक्रमितको उपचारमा थिइन्।
‘उनीले आफ्नो ड्युटी सधैँ कुशलतापूर्वक निर्वाह गरिन्। त्यसले नै उनलाई मृत्युतर्फ धकेल्यो’, उनका पिता फिली ब्रिनले न्युयोर्क टाइम्ससँग भनेका छन्,‘उसमा कुनै किसिमको मानसिक समस्या थिएन।’
न्युयोर्कबाट भर्जिनियास्थित बुवाआमाको घर फर्किएर उनले आत्महत्या गरेकी हुन्। अस्पतालमा दर्दनाक दृश्यबारे उनले परिवार सदस्यलाई सुनाएको उनका पिताले बताए। मृत्यु हुनु अगाडिको मानिसहरुको अवस्थाबारे उनले सुनाएकी थिइन्।
म्यानहटनस्थित प्रेस्वेटरियन अस्पताल। तस्विर साैजन्य: न्युयोर्क टाइम्स
अस्पतालले एक विज्ञप्ति जारी गर्दै लोर्ना एम ब्रीन एक जना हिरो भएको जनाएको छ। ‘उनी अस्पतालका लागि सम्मानित डाक्टर हुन्। कोलम्बिया विश्वविद्यालय, मेडिकल केन्द्रका लागि पनि उति नै सम्मानित चिकित्सक हुन्’, अस्पतालका उपाध्यक्ष डा.लरेन्स ए मेलिन्कारले भनेका छन्।
न्युयोर्क टाइम्स अनलाइनअनुसार संक्रमितको उपचार गर्दागर्दै उनी स्वयं कोरोनाबाट संक्रमित भएकी थिइन्। अस्पतालमा चिकित्सक अभाव छ। ख्याती कमाएकी आरटी डाक्टर उनी संक्रमित भएपछि १० दिनमा ९ पटक बिरामीको उपचारका लागि परिचालन भएकी थिइन्।
परिवारले अस्पताल व्यवस्थापनलाई अनुरोध गरेपछि बल्ल आरामका लागि विदामा बसेकी थिइन्। त्यसपछि उनी भर्जिनियास्थित घर फर्किएर आराम गरिरहेकी थिइन्। ‘यो निश्चित हो उनलाई हिरो भनेर प्रशंसा गरिन्छ। किनभने उनी थिइन् नै त्यस्तै’, उनका पिता फिली भन्छन्, ‘अर्को पक्ष उनको निधन झनै दुःखदायी किसिमले भएको छ।’

प्रतिक्रिया