बर्दियास्थित एक क्रसर उद्योगबाट भारत फर्किएका दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि यसअघि त्यहाँ उनीहरूसँगै काम गरेका १० नेपालीको नमुना (स्वाब) परीक्षण भइरहेकाे छ।
बर्दियाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर आफ्नो देश भारत पुगेपछि कोरोना संक्रमण पुष्टि भएका थिए। त्यसकाे जानकारी भारतीय प्रहरीले नेपालकाे प्रशासनलाई पत्र पठाएर गराएकाे थियाे। त्यसपछि यहाँ रहँदा उनीहरूसँगै काम गरेका नेपालीहरूमा पनि कोरोना संक्रमण छ कि भनेर धमाधम परीक्षण भइरहेको हो।
ती नेपालीमध्ये ती भारतीयसँग ज्यादै नजिकको सम्बन्ध गरेका दुई जनाकाे स्वाब भने यसअघि नै परीक्षण भइसकेको र नतिजा नेगेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। बाँकी १० जनाकाे नमुना भने परीक्षण भइरहेको उनले बताए।
‘हिजो १० जनाको स्वाब संकलन गरी नेपालगन्ज प्रयोगशाला पठाएका छौं,’ मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी लामिछानेले टेलिफोनबाट नेपालखबरसँग भने, ‘नतिजाको प्रतिक्षामा छौं।’
उनका अनुसार क्रसर उद्याेगमा नेपालीसँग काम गर्ने ५ भारतीय सीमानाका बन्द हुँदाहुँदै पनि भागेर यही वैशाख ५ गते भारतको उत्तर प्रदेशस्थित बहराइच फर्किएका थिए। त्यहाँको अस्पतालमा परीक्षण गर्दा तीमध्ये २ जनामा काेराेना पुष्टि भएकाे हाे।
प्रमुख जिल्ला अधिकारी लामिछाने भन्छन्, ‘२ नेपालीको रिपोर्ट नेगेटिभ आएको देख्दा जहाँसम्म लाग्छ, ती भारतीयलाई यहाँ हुँदा होइन, उतै पुगेपपिछ कोरोना संक्रमण भएको होला।’
तर पनि ती १० जनाकाे नतिजा नआई यसै भन्न नसकिने उनकाे भनाइ छ।

प्रतिक्रिया