समाज


नेपाल स्काउटमा भित्र अन्तर्वार्ता, बाहिर धर्ना र धकेलाधकेल

नेपाल स्काउटमा भित्र अन्तर्वार्ता, बाहिर धर्ना र धकेलाधकेल

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १३:५३, काठमाडौँ

नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै शनिबार कार्यालय परिसरमा धर्ना दिएको छ। 

कार्यालयभित्र स्काउटको निर्देशक नियुक्तिका लागि सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो।

यस क्रममा प्रहरीसँग धकलाधकेलसमेत भएको थियो।

नेपाल स्काउट शुद्धीकरण समितका संयोजक देवदूत अधिकारीले  निर्देशक पदका लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको आरोप लगाए। 

बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकका लागि आवेदन आह्वान गरिएको उनले बताए।

प्रमुख आयुक्तका विषयमा समेत अदालतमा मुद्दा विचराधीन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने जिकिर उनले गरे। 

निर्वाचित प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर चौधरीको नाइटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको आरोप उनको छ। 

उनले स्काउटभित्रका विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्न छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गरिनुपर्ने माग गरे। र, प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उनले बताए। 

‘निर्देशक पदको लागि भ्याकेन्सी आह्वान गरिएको थियो । जुन निर्देशक पदमा बहालवाला निर्देशक हुँदाहुँदै भ्याकेन्सी आह्वान गरेर आज यहाँ इन्टरभ्युको लागी बोलाइरहेको छ। यो हामीले मान्यता हुँदैन भनेर भनिरहेका छौँ’, उनले भने, ‘अर्को कुरा निर्वाचित भएको प्रमुख आयुक्तलाई यो भन्दा अगाडिको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर तेजुलाल चौधरीको नाइटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर यहाँको आयुक्त बनाएको छ। अहिले विवादित भएर सर्वोच्च अदालतमा विचाराधीन छ मुद्दा। अहिले हामीले यहाँ के उठाइरहेका छौँ भने विकृति, विसंगति र भ्रष्टाचार व्याप्त छ। निज निर्देशकले राजीनामा लिइसकेपछि पनि हाम्रो छानबिन कमिटी १३ दिनसम्म रिले अनसन र ८ दिनसम्म आमरण अनसन बसेको छानबिन कमिटिको प्रतिवेदन सार्वजानिक गर र त्यो प्रतिवेदनको आधारमा कडा भन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग हो।’

स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरे पनि तत्कालीन मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए।

कानुनी प्रक्रिया नपुर्‍याई आफूलाई हटाएर घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि सर्वोच्चमा मुद्दा हालेको उनले बताए।

उक्त मुद्दा चलिरहेका बेला निर्देशकका लागि आवेदन आह्वान गरेर नयाँ नियुक्त गर्न नमिल्ने जिकिर उनको छ। 

‘म प्रमुख आयुक्त पदमा २०८० साल फागुन १३ गते राष्ट्रिय परिषद्को, राष्ट्रिय परिषद् भनेको नेपाल स्काउटको सर्वोच्च निकाय। निर्विाचित पदाधिकारीहरू बस्ने ठाउँ, नेपालको प्रतिनिधि सभाजस्तै हो, नेपाल स्काउटको लागि। त्यो बैठकले नियुक्ति गरेको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मलाई दफा १६ अनुसारको ४ वर्षको लागि भनेर नियुक्ति गरेको प्रमुख आयुक्त पदमा। तर पछिल्लो मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै मलाई हटाउनुभयो’, उनले भने, ‘अहिले उहाँको आफ्नो मान्छे देवराज घिमिरे भन्नेलाई कानूनी प्रक्रिया नपुर्‍याईकन प्रमुख आयुक्त बनाइएको छ। त्यो हुनाले मैले मुद्दा हालेको छु। मेरो मुद्दा चलिरहेको छ। त्यसकारण यो निर्देशक भ्याकेन्सी निकालेर अहिले यो जुन विषम परिस्थितिमा पनि हतार हतार गरेर यो नियुक्ति गर्न खोजिएको छ, त्यो मिलेको छैन।’ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad