अमेरिकाका बासिन्दा भए पनि गुल्मी घर भएका डा रामु खरेल नेपालमा स्वास्थ्य सेवा अभियानमा सक्रिय छन्।
बुवालाई डीभी परेपछि १२ वर्षकै उमेरमा अमेरिका पुगेका उनी त्यहाँको ब्राउन विश्वविद्यालयका इमर्जेन्सी मेडिसिनका सहप्राध्यापक हुन्।

स्वास्थ्य अभियान सञ्चालनकै लागि डा खरेल हरेक वर्ष नेपाल आउँछन् र ३ महिनाजति बस्छन्।
अमेरिका बस्न थालेयता सन् २०१० मा पहिलोपटक नेपाल आएका चिकित्सक खरेलले त्यहाँ र यहाँको स्वास्थ्य प्रणालीमा निकै फरक देखे।
गाउँघरमा हात धुन नजान्दा पनि विभिन्न रोग लाग्ने गरेको थाहा पाए। त्यसपछि उनले हात धुने तरिका सिकाउने अभियान थाले।
यस क्रममा उनी २०७२ को महाभूकम्प र कोरोना महामारीका बेला निकै खटे।
त्यही बेला डा खरेलले हेल्थ एड्भान्समेन्ट प्रोग्राम टु सर्भ अल, नेपाल (हाप्सा नेपाल) नामको गैरसरकारी संस्था दर्ता गराए।
अनि संस्थाका माध्यमबाट उनले कोरोनाका बेला मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री नि:शुल्क वितरण गरे।
त्यसयता उनी नेपालको ग्रामीण स्वास्थ्य सेवा सुधार्ने अभियानमा क्रियाशील भएका हुन्।
नेपालमा बसाइमा आकस्मिक स्वास्थ्य सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा जनचेतना फैलाउने उनी सीपीआर (कार्डियो पल्मोनरी रिससिटेसन) का विषयमा तालिम दिन्छन्।
दुर्गम जिल्लामा खटिएका प्रहरीहरूलाई उनले सीपीआर तालिम दिने गरेका छन्।

मुटुमा रक्तसञ्चारमा अवरोध हुन नदिन छातीमा गरिने सीपीआर विषय विद्यालय तहदेखि नै पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने उनी बताउँछन्।
त्यसो त उनले यो विषय पाठ्यपुस्तकमा समेट्न अनुरोध गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापनपत्र नै बुझाइसकेका छन्।
नेपालका सबै प्रहरी र शिक्षकलाई सीपीआर सिकाउने योजनाअनुसार आफू अघि बढेको उनले सुनाए।
अस्पतालबाहिर कार्डियाक अरेस्ट भएका व्यक्तिलाई पनि सीपीआरमार्फत बचाउन सकिने उनको भनाइ छ।
यो कुरा विद्यालय तहदेखि नै सिकाउने हो भने धेरै व्यक्तिको ज्यान जोगाउन सकिने उनी बताउँछन्।
उनले सीपीआर बनाउने विषयमा गीतसमेत तयार पारेका छन्।
पाठ्यक्रममै सीपीआर तालिम राख्नपर्छ भनेर लागेका डा खरेलले पहिलोपटक दरबार हाई स्कुलमा शिक्षक र विद्यार्थीलाई तालिम दिने योजना बनाएका छन्।

सरकारसँगै सहकार्य गरेर यसमा काम गर्ने योजना बनाएका डा खरेलले सरकारी पक्षबाट सहयोगको अपेक्षा गरेका छन्।
‘नेपालमा सीपीआर तालिम अघि बढाउनुपर्छ भनेर लागेको धेरै वर्ष भयो। सरकारले हाम्रो कुरा सुनेको छैन्, अझ पनि प्रयास गर्दै छु। पाठ्यक्रममा नै राख्न शिक्षामन्त्रीलाई भेटेको छु, अन्तरिम सरकारले हाम्रो कुरा सुन्छ कि,’ डा खरेलले नेपालखबरसँग भने।
उनका अनुसार अमेरिकामा अस्पतालबाहिर कार्डियाक अरेस्ट भए ८ प्रतिशत र डेनमार्कमा २२ प्रतिशत मानिस सीपीआरबाट बाँच्ने गरेका छन्।
नेपालमा भने यो शून्य प्रतिशत छ,’ उनले भने, ‘हाम्रो नेपालमा पनि सीपीआरसम्बन्धी ज्ञान बढाउन सके धेरै व्यक्तिलाई बचाउन सकिन्छ, त्यही सोच राखेर अहिले प्रहरीलाई तालिम दिने र त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र काठमाडौँ महानगरपालिकासँग मिलेर काम गर्न खोजेका छौँ।’
सीपीआर भनेको के हो त? यो कसरी गरिन्छ? के के कुरामा ध्यान दिनुपर्छ?
सुनौँ आकस्मिक रोग विशेषज्ञ डा रामु खरेलको भिडिओ ब्रिफिङ:
Shares

प्रतिक्रिया