बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मोन्था भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको हो।
'बिहानैदेखि कोसी, मधेस, बागमती, लुम्बिनी र गणडकी प्रदेशमा मोन्थाको प्रभाव सुरु भइसकेको छ', उनले बिहीबार बिहान नेपालखबरसँग भनिन्।
जसका कारण यी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार नेपालमा हाल मोन्था चक्रवातको प्रभावका साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।
आज यस्तो छ, वर्षा तथा हिमपातको सम्भावना-
आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया