समाज


अग्रवाललाई तीन वर्ष कैद माग गर्दै मुद्दा दर्ताको तयारी, थप सजायसमेत हुने

अग्रवाललाई तीन वर्ष कैद माग गर्दै मुद्दा दर्ताको तयारी, थप सजायसमेत हुने

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ७:०,

उद्योगी सुलभ अग्रवालविरुद्ध प्रहरीले तीन वर्ष कैदसहित चार वटा मुद्दा चलाउन सिफारिस गरेको छ।

काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अग्रवालविरुद्ध चार वटा मुद्दामा तीन वर्ष कैद र १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ बिगो माग गरिएको छ।

परिसरले कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा मुद्दा चलाउन सिफारिस गरेको हो।

कालोबजारी ऐनको दफा २ (क) अनुसार सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यलिई बिक्री गरेको पाइएमा एक वर्ष कैद अथवा १० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ।

२० प्रतिशतभन्दा बढी मुनाफा लिई बिक्री गरेको पाइएमा एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना र अभाव सिर्जना गरेर बढी मूल्यमा बेचेको खण्डमा एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको महानगरीय प्रहरी परिसरका मुद्दा शाखाका डीएसपी कृष्ण चन्दले बताए।

यस्तै अग्रवालविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरेको मुद्दामा पनि कारबाही हुनेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले पदको दुरुपयोग गरी गैरकानुनी काम गरेको पाइएमा थप डेढी सजाय हुने व्यवस्था फौजदारी कसुरमा व्यवस्था छ।

अग्रवालले बिक्रीवितरण गरेका स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउनुपर्ने प्रहरीको सिफारिस छ।

नेपालका लागि किर्गिस्थानका अवैतनिक दूतसमेत रहेका अग्रवालले कूटनीतिक सुविधाको गाडी दुरुपयोग गर्दै कालोबजारी गरिरहेका बेला चैत २५ गते ६७ थान थर्मल गनसहित पक्राउ परेका थिए। अग्रवाल चीनबाट २ हजार ४ सयमा खरिद गरेका थर्मल गन १५ हजार रुपैयाँमा बेचिरहेको अवस्थामा पक्राउ परेका थिए।

उनीविरुद्धको मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .