समाज


काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ, एकैदिन पाँच जनासम्मको घाँटीबाट चुँडाल्थे सिक्री

काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ, एकैदिन पाँच जनासम्मको घाँटीबाट चुँडाल्थे सिक्री

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार २०:१, काठमाडौँ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरगढी गाउँपालिका ६ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर, रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ घर भइ चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बि.क, बागलुङको गल्कोट नगरपालिका २ घर भइ काठमाडौं बूढानीलकण्ठ- ६ सरस्वती नगरमा रहेको बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार र  कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु जेम्स एण्ड ज्वलर्सका सञ्चालक वर्ष २२ को दिपेस रसाईली रहेका छन्। 

प्रहरीका अनुसार राज लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने दुर्ग बहादुर मगर मोटरसाइकलको पछाडि बसि सिक्री तान्ने व्यक्ति हुन्। यस्तै, दिल बहादुर बि.क र गोबिन्द सुनार लुटिएको सामान किन्ने व्यक्ति हुन् भने दिपेस रसाईली लुटिएको सिक्री बिक्री गरी दिने व्यक्ति हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार राज लामा र विशाल भन्ने दुर्ग बहादुर मगरले यही ६ असोज ८ गते ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री चुडालेर लगेको, असोज २३ गते  काठमाडौको नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्री चुडालेर लगेको, असोज २६ गते ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको, कात्तिक १ गते नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको, सोही दिन रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र सामसङ कम्पनीको मोबाइल थान १ लुटपाट गरेको, कात्तिक १ गते तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्री चुडालेर लगेको पाइएको छ। 

दिल बहादुर बिकको सल्लाघारी स्थित श्री लक्ष्मी ज्वेलर्सबाट सिक्री बिक्री गरी ल्याएको नगद रु. ३ लाख ८८ हजार ५०० र दिपेस रसाईलीको कुलेश्वरस्थित कोठाबाट ६४ लाल तौल भएको सुनको ढिक्का थान - ४ पनि प्रहरीले बरामद गरेको छ। 

यसैगरी, गोबिन्द सुनारको कपन स्थित बाग्लुङ कालिका ज्वेलर्सबाट ९५ लालको सुनको ढिक्का थान - १, १ तोला ६४ लालको सुनको ढिक्का थान - १, १ तोला ५८ लालको सुनको सानो सानो ढिक्का थान - ५, ८३ लालको सुनको ढिक्का थान - १ र ३९ लालको सुनको ढिक्का थान - १, २ तोला १४ लालको सुनको सिक्री थान १ (जम्मा ७ तोला ४८ लाल सुन), नगद रु. १ लाख ६६ हजार बरामद भएको छ।

यस्तै, प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल, सिम तथा लुटपाटमा प्रयोग हुने सामानहरू पनि बरामद गरेको छ।

पक्राउ परेका उपर काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad