नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका सहिद र घाइतेहरूले गरेको बलिदान खेर जान नदिन सबै सचेत रहनुपर्ने बताएकी छिन्।
सोमबार बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले केएमसीले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र हाल २ जना मात्र उपचाररत रहेको जानकारी दिइन्।
उनका अनुसार तीमध्ये १ जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको थियो भने अर्को १ जना गोली लागेर उपचाररत छन्। दुवैको अवस्था अहिले सुधारोन्मुख रहेको उनले बताइन्।
मन्त्री गौतमले भनिन्, ‘केएमसीबाट ८३ जना जेनजी घाइतेहरूको उपचार भइसकेछ। अहिले मैले दुई जना बिरामी हेरेँ- एक महिलामाथि पेट्रोल बम प्रहार भएको रहेछ, हेर्दा अत्यन्त दुःख लाग्यो। अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ, उहाँको अवस्था पनि सुधारोन्मुख छ। उपचारमा अस्पतालले निकै राम्रो काम गरेको रहेछ।’
उनले थपनि, ‘यत्रो सहिद र घाइतेहरूको बलिदान खेर जानु हुँदैन। हामी सबै त्यसतर्फ सचेत छौँ। जेनजीहरूले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मागहरू बिर्सनु हुँदैन।’
मन्त्री गौतमले सहिदहरूको बलिदानको अवमूल्यन हुन नहुने भन्दै जनआन्दोलनले उठाएका आदर्श र मूल्यहरूलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
Shares

प्रतिक्रिया