समाज


प्रहरी हत्याका आरोपीको बयान : संकटकालको बेला माओवादी भन्दै आँखा फुटाइदियो, अहिले बदला लिएँ

चार आरोपी कारागार चलान
प्रहरी हत्याका आरोपीको बयान : संकटकालको बेला माओवादी भन्दै आँखा फुटाइदियो, अहिले बदला लिएँ

नेपालखबर
कात्तिक २, २०८२ आइतबार २०:५६, काठमाडौँ

काठमाडौँको महाराजगञ्जमा दुई प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका चार जना कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

महाराजगञ्ज बृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तमसिंह थापाको हत्या भएको थियो। रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भई हाल धुम्बाराही बस्ने ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका १० हडिया घर भई ललितपुरको बालकुमारी बस्ने २८ वर्षका टिकाराम बिक पक्राउ परेका थिए।

उनीहरूले असई रायको हत्या गरेको भिडिओ, फोटोको आधारमा प्रहरीले पक्राउ गरेको थियो। बयानका क्रममा पनि उनीहरूले प्रहरी हत्यामा संलग्न भएको स्वीकार गरेका थिए। 

२०६५ सालदेखि काठमाडौँ बस्दै आएका होमप्रसाद हाल धुम्वाराहीमा डेरा गरी बस्दै आएका थिए। त्यसअघि उनी मलेसियामा तीन वर्ष काम गरेर फर्किएका थिए। आफूलाई पहिल्यैदेखि प्रहरीसँग रिस रहेकाले त्यसदिन हत्या गरेको बयान उनले दिएका छन्। २०५७ सालमा संकटकालको बेला प्रहरीले माओवादी भन्दै बन्दुकको नालले हानेर आफ्नो दाहिने आँखा फुटाइदिएको अनि त्यही बेलादेखि प्रहरीसँग रिस उठेको र अहिले बदला लिएको बयान उनले दिएका छन्। 

उनी पछिल्लो समय आफ्नै भतिजको किराना पसलमा ज्याला मजदुरीको काम गर्थे।

अर्का प्रतिवादी टिकाराम विक काठमाडौँ–उदयपुर चल्ने रुटको टिकट काउण्टरमा काम गर्थे। उनको मासिक तलव १५ हजार रुपैयाँ थियो। उनी परिवारसहित ललितपुरको बालकुमारी बस्दै आएका छन्। उनले पनि असई रायलाई लाठी, चिर्पटले हान्दै हत्या गरेर प्रहरीको ढाल तथा कार्टुनले छोपेर छाडेका थिए। यस्तै महाराजगन्जबाट प्रहरीको हतियार लुटपाटमा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ।  

बिक र पौडेललाई आइतबार अदालतले कारागार चलान गरेको हो। 

यसअघि प्रहरी जवान उत्तमसिंह थापाका हत्या आरोपमा दुईजनालाई शुक्रबार थुनामा पठाउन आदेश भएको थियो। जवान थापाको हत्या आरोपमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका ९ राजवास घर भई हाल बालुवाटारमा डेरा बस्ने २८ वर्षका युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरि बस्ने २१ वर्षका सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए।

बिहीबार अदालतमा मुद्दा दर्ता भएको थियो। शुक्रबार उनीहरूलाई थुनामा पठाउन आदेश भएको हो। 

उनीहरूले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत जवान २८ वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ २४ गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए। 

जेनजी आन्दोलनकारीहरूले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढंगले आक्रमण गरी हत्या गरेका थिए। हत्यापछि पनि उनको शव प्रदर्शनकारीहरूले घिसारेर सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगन्जमा लगेको थियो। 

मृतकका काका ईश्वरसिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। 

आरोपितहरूले प्रहरी समक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्। युवराज क्याप्छाकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उनले प्रहरी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको, हिरासतभित्र रहेका थुनुवा भगाएको, प्रहरीलाई फलामको रड, लाठी, चिरपट, गुलेली, ह्यामर, चक्कु, खुकुरी लगायतले आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट विभिन्न सामानहरू चोरी गरेको पनि पाइएको छ। 

अर्का प्रतिवादी बुद्धिलाल थिङ टोखामा राजीव केसीले सञ्चालन गरेको ब्रदर्स रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उनले पनि प्रहरीलाई कुटपिट गरी हत्या गरेको बयानमा स्वीकार गरेका छन्। प्रहरीले भिडिओका आधारमा उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीको हत्यापछि उनी रेस्टुरेन्टमै लुकिछिपी बस्दै आएका थिए। 

आफूले प्रहरी कुटपिट गरी हत्या गरेको भिडिओ उनी आफैँले पनि बनाएका थिए। यस्तै उनी समेतले प्रहरीलाई महाराजगन्ज वृत्तभित्र थुनेर आगो समेत लगाएका थिए। पछि नेपाली सेनाको हेलिकोप्टरबाट २२ प्रहरीको उद्धार गरिएको थियो। 

उनीहरूलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ पनि कारबाही गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ। यी कसुरमा जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ। 

यो कसुरमा अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ परेका बखत पुनः पेस गरिने अभियोग पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad