समाज


सडकमा घिसारेर हत्या गरिएका असइले ‘डर लाग्यो’ भन्दै श्रीमतीलाई पठाएका थिए मेसेज

सडकमा घिसारेर हत्या गरिएका असइले ‘डर लाग्यो’ भन्दै श्रीमतीलाई पठाएका थिए मेसेज

आयुषा ढकाल
भदौ ३०, २०८२ सोमबार २०:१३, काठमाडौँ

‘सुन न, जीवनमा पहिलोचोटि डर लागेको छ। मेरो बाइक पनि आन्दोलनकारीले जलाइदिएका छन्।’

भदौ २४ का दिन दिउँसो असइ मिलन रायले आफ्नी श्रीमतीलाई मेसेज पठाए। तर, जापानमा रहेकी श्रीमतीले उनको मेसेज पढ्न नपाउँदै यता उनको ज्यान गइसकेको थियो।

मिलन महाराजगन्जस्थित प्रहरी वृत्तको अपराध अनुसन्धान शाखामा कार्यरत थिए। उनले बर्दीसमेत लगाएका थिएनन्। दिउँसो अचानक प्रदर्शनकारीहरू वृत्तमा प्रवेश गरे र कार्यालय तोडफोड र आगजनी गर्न थाले।

वृत्त तोडफोड हुन लागेपछि धेरैजसो प्रहरीले भागेर ज्यान जोगाए। मिलन भने भाग्न पनि पाएनन्। उनलाई हिंस्रक प्रदर्शनकारीहरूले पक्रिए। उनलाई घिसार्दै कार्यालय भवनअगाडि सडकमा ल्याए र कुट्न थाले। उनीमाथि लात्ती, ढुंगामुढा र फलाम रड प्रहार गरियो। 

क्रूर तरिकाले हत्या गरेपछि भीडले मिलनलाई सडकको माझमा झण्डा ओढाएर छाडेको थियो।

पछि कर्फ्यु लागेको समयमा सडकमा खटिएका नेपाली सेनाले मिलनको शव देखेपछि उठाएर प्रहरी अस्पताल लगेको थियो। अस्पतालबाट जानकारी आएपछि मिलनका काका अस्पताल पुगेका थिए।  

यतिखेर सामाजिक सञ्जालभरि मिलनलाई कुटीकुटी हत्या गरिएको भिडिओ छ्याप्छ्याप्ती छन्। ती भिडिओमा डीएसपी भन्दै उनलाई कुटिएको छ। 

२४ गते अपराह्न साढे ४ तिर उनको मृत्यु भएको थियो।

सिन्धुलीको दुधौली घर भएका मिलनले डेढ वर्षको छँदै ब्लडक्यान्सरका कारण बुवा गुमाएका थिए। उनकी आमा पतिवियोगमा विक्षिप्त भएकी थिइन्। पछि उनले आत्महत्या गरिन्।

आमाबुवाकै मृत्युपश्चात् मिलन र उनका दुई दाइलाई हजुरबा–हजुरआमाले नै हुर्काए। सानैदेखि पढ्नमा अब्बल रहेका राय विद्यालयमा सधैँ प्रथम हुन्थे। एसएलसीसम्म हजुरबाआमाले पढाएपछि काकाहरूको सहयोगमा काठमाडौँ आएर पढे।

१२ पास भएपछि नेपाल प्रहरीको सहायक निरीक्षक पदमा २०७४ सालमा नियुक्त भए। हाल मिलन इलाका प्रहरी कार्यालय प्रिति, रामेछाप दरबन्दी भई प्रहरी वृत्त महाराजगन्जको अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत थिए। उनका माइला दाइ पनि प्रहरीमा असइ नै छन्।

३० वर्षका मिलनले गत वर्ष फागुनमा आफ्नो १० वर्षको प्रेमलाई विवाहमा बदलेका थिए। उनकी पत्नी मंगला श्रेष्ठ वर्किङ भिसामा जापान गएको भर्खर ४ महिना मात्र भएको छ।

मिलनलाई गोली लागेर आईसीयूमा रहेको खबर मंगलालाई दिइएको थियो। २६ गते मंगला नेपाल फर्किइन्। पतिको अवस्था देखेयता उनको बेहाल रहेको मिलनका काकाकी छोरी अनुषा बताउँछिन्। 

२७ गते रायको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। 

‘श्रीमानलाई आफ्नै आँखाअगाडि जलेर खरानी भएको देख्दा पनि ‘मेरो मिलनलाई केही भएको छैन, आउनुहुन्छ उहाँ’ भनिरहनुभएको छ,’ अनुषा भन्छिन्, ‘उहाँलाई विश्वासै लागिरहेको छैन।

‘मेरो मिलनलाई यसरी मार्दा किन कसैले रोकेन?’ 

‘त्यसरी कुट्दा कति दुख्यो होला उसलाई!’ 

‘मेरो मिलनको अनुहार नचिनिने गरेर मार्ने हत्यारालाई कहिले कारबाही हुन्छ?’

मंगलासँग यस्ता हजारौँ प्रश्न छन् तर उत्तर एउटाको पनि छैन।

मिलनले दसैँलगत्तै जापान जाने योजना बनाएका थिए। मंगलाले जापान सँगै घुम्ने र घुमाउने योजना सुनाइरहन्थिन्।

अब उनीहरूको त्यो सपना कहिल्यै पूरा हुने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad