नर्सहरूलाई सरकारले तोकेको ५औंँ तह बराबरको पारिश्रमिक दिने निर्णय कार्यान्वयन गराउन नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ।
संघले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई ज्ञापन पत्र बुझाउदैँ नर्सहरूको पारिश्रमिक सरकारले तोके बमोजिम बनाउन आग्रह गरेको हो।
संघकी अध्यक्ष चन्द्रकला शर्माले मन्त्रालयको निर्देशन अटेर गरेर कुनै पनि निजी अस्पताल र मेडिकल कलेजले पारिश्रमिक नदिएको जानकारी दिइन्।
उनले मन्त्रालयले एक बर्षअघि गरेको निर्णय कार्यान्वयन गराउन मन्त्रालयले नै चासो नदिएको आरोप पनि लगाइन्।
‘नर्सको श्रम शोषण भइरहेको छ, मन्त्रालय आफैँले गरेको निर्णय लागू गराउन सक्दैन्,' उनले भनिन्, 'त्यसको परिणाम स्वरुप नर्सहरू आन्दोलनमा उत्रिनु परेको छ। तोके बमोजिमको पारिश्रमिक दिन्न भन्न पाइँदैन्।’
यसबारे ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ।
मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्युनतम पारिश्रमिक र सेवा-सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो।
न्यून पारिश्रमिक दिएको भन्दै मणिपाल मेडिकल कलेजमा कार्यरत ७८ जना नर्सहरू एक सातादेखि आन्दोलित छन्। नर्सहरूले आज ओपीडी र प्रशासनमा तालावन्दी गरेका छन्।
Shares

प्रतिक्रिया