लगातार वर्षापछि इलामका विभिन्न स्थानमा आएको पहिरोले २१ जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
इलामको माईजोगमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङ्सेबुङलगायतका पालिकामा ठूलो क्षति भएको बताइएको छ।
पहिरोका कारण दर्जनौं घरहरू पुरिएका छन् भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सारिँदै छन्।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर इलाम पुगेर एक गर्भवती महिलाको उद्धार गरेको छ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, माङ्सेबुङमा पहिरोमा फसेकी गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत सफल उद्धार गरिएको हो।
लगातार वर्षाका कारण मेची राजमार्ग ठाँउठाँउमा अवरुद्ध भएको छ, घाइतेको उपचारमा कठिनाइ आएको उनले जानकारी दिइन्।
सडक अवरुद्ध भएकाले उद्धार टोली र राहत सामग्री पठाउन पनि समस्या भइरहेको जनाइएको छ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा उद्धार र खोजतलासको कामअघि बढाइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय इलामले जनतालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ।
Shares

प्रतिक्रिया